चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीविरुद्ध दुर्गा प्रसाईंले दिए अख्तियारमा उजुरी

काठमाडौं, २९ पुस । झापाको बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीविरुद्ध अख्तियार र सम्पत्ति शुद्धिकरणमा उजुरी दिएका छन् । गिरीले अनियमितता गरी अकूत सम्पत्ति कमाएको र झुठो विवरण पेश गरी चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बनेको भन्दै प्रसाईंले सम्पति शुद्धिकरण अनुसन्धान विभाग पुल्चोक र अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा उजुरी दिएका हुन् ।
बिएण्डसी अस्पताललाई सम्बन्धन दिलाउन गिरीले प्रसाईसँग २० करोड रकम माग गरेको प्रसाईंले यसअघि आरोप लगाएका थिए ।
एमबीबीएस कार्यक्रम सञ्चालनका लागि सम्बन्धनसम्बन्धी सबै कानुनी पक्रिया पुरा गरी आयोगसमक्ष निवेदन दिँदा दर्ता नगरेर २० करोड रकम वा १० प्रतिशत शेयर माग गरेको प्रसाईले दावी गरेपछि गिरीले पनि सोही दिन पत्रकार सम्मेलन गर्दै त्यसको खण्डन गरेका थिए ।
प्रसाईंले आफुलाई झुठा आरोप लगाएर चरित्रहत्या गरेको भन्दै अदालत जाने तरखर गरिरहँदा प्रसाईंले उनीविरुद्ध उजुरी दिएका हुन् । मंगलवार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले डा. गिरी उपाध्यक्ष हुन नै योग्य नभएको दावी गरे । प्रसाईंले सम्बन्धित निकायमा उजुरी दिँदा गिरीविरुद्धका विभिन्न समाचार र कागजातलाई आधार बनाइएको छ । सम्पत्ति शुद्धिकरणमा सोमवार उजुरी दर्ता गराएकोमा गिरीले भ्रष्टाचार निवारण ऐनको दफा ३ विपरित कार्य गरेको, झुठा विवरण पेश गरि चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बनेको भन्दै गिरी र उनको परिवारको सम्पति रोक्का गर्न माग गरिएको छ ।
त्यस्तै प्रसाईंले अख्तियारमा दिएको निवेदनमा पनि आफुसँग घुस मागेको आरोप लगाएका छन् । आयोगको उपाध्यक्ष हुन योग्य नभएको, विवादास्पद छवि भएको, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको शिक्षाध्यक्ष हुँदा विद्यार्थीलाई आएको १ लाख डलरको कोटामा आफै विदेश गएको पनि आरोप लगाएका छन् । प्रसाईंले अख्तियारमा दिएको उजुरीमा गिरीलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान गर्न माग गरेका छन् ।