औषधि व्यवस्था विभाग र प्रहरीको संलग्नतामा खुशिबुमा छापा, दर्ता नै नभएका बिक्री हुँदै

काठमाडौं, २९ पुष । औषधि व्यवस्था विभाग र नेपाल प्रहरीले अवैध औषधि पसलमा छापा मारेको छ ।
नेपाल प्रहरीको सयोगमा विभागले राजधानीको खुशिबुस्थित एक घरमा छापा मार्दै अवैध रुपमा मुलुकमा आयात गर्दै लुकाइ छिपाइ बिक्री वितरण गर्ने तयारीमा राखेको अवस्थामा ठूलो परिमाणका औषधि बरामद गरेको छ ।
औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी पाउनासाथ महानिर्देशक नारायण ढकालले औषधि क्षेत्रमा रहेको विद्यमान वेतिथी लगायतका अराजक र औषधि व्यवसायको आवरणमा जनस्वास्थ्यमाथि खेलवाड गर्दै विभागमा दर्ता नै नभएका औषधि बरामद गरेका हुन् ।
महानिर्देशक ढकालले छापा मार्ने क्रममा विभागमा दर्ता नगरिएका विभिन्न औषधि फेला परेको जानकारी दिए । उनले ती औषधि शल्यक्रिया गर्दा दुखाई कम गर्ने, यौन उत्तेजना बढाउने, गर्भ निरोधक, सुगर, प्रेसर लगायतमा प्रयोग हुने औषधि रहेको पनि उनले जानकारी दिए ।
उनले राजधानीको औषधि जक्शन भनेर चिनिएको क्षेत्रपाटीस्थित कृपासुर ड्रग हाउसले अवैध औषधि स्टोर गरेर राखेको अनुसन्धानको क्रममा जानकारी प्राप्त भएको भन्दै त्यस विषयमा अनुसन्धानको काम सुरु भएको पनि बताए । विभाग अन्र्तगत रहेको निरिक्षण महाशाखाले यस सम्बन्धमा कामकारवाही गर्दै औषधि व्यवसायी पुरुषोत्तम भण्डारीको खोजी भइरहेको छ ।
महानिर्देशक ढकालले औषधि व्यवसायीको आवरणमा अवैध धन्दा गर्ने जो कोहीलाई कारबाहीको दायरामा ल्याउने बताए ।