समायोजन टुङ्गिएको ९ महिनामा पनि चिकित्सक आएनन्, चिसोले बिरामी परेकाहरुलाई समस्या

धनगढी, २९ पुष । समायोजनपछि सुदूरपश्चिमका अस्पतालमा आएको समस्या ज्यूँका त्यूँ छ । चिकित्सक अभावका कारण हिमपातसँगै बढेको चिसोले अस्पतालमा बिरामीको सङ्ख्या बढे पनि उपचार गर्ने चिकित्सक नहुँदा स्थानीयलाई सास्ती हुने गरेको छ ।
स्वास्थ्यकर्मी समायोजनमा यहाँका स्वास्थ्यकर्मी गएपछि डोटीलगायत सुदूरपश्चिमका अधिकांश अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक अभाव देखिएको हो ।
सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार डोटीसहित समग्र सुदूरपश्चिममा कूल १ सय ४ जना चिकित्सकको अभाव रहेको छ । चिकित्सक अभावका कारण यहाँका अस्पतालमा भर्ना भएका बिरामीले सहज र सहुलियतरुपमा उपचार पाउन सकेका छैनन् । डोटी जिल्ला अस्पतालमा लामो समयदेखि प्रमुखको पद रिक्त रहेको छ ।
जिल्ला अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्ट तथा तीन जना मेडिकल अधिकृतको दरबन्दी रहे पनि हाल दुई जना मेडिकल अधिकृत मात्रै कार्यरत रहेका छन् । नवाँै र दशौँ तहका चिकित्सकको दरबन्दी खाली रहेको जिल्ला अस्पताल डोटीले जनाएको छ । पच्चीस शय्याको अस्पतालमा दुई चिकित्सक, एक स्वास्थ्य सहायक, दुई अहेब, एक स्टाप नर्स तथा दुई वटा एएनएमको दरबन्दी रिक्त रहेको छ ।
त्यसैगरी बोगटान फुडसील गाउँपालिकास्थित केदार अखडा प्राथमिक स्वास्थ्य केन्द्रमा करीब डेढ वर्षदेखि चिकित्सक नै छैनन् । एक जना मेडिकल अधिकृतको दरबन्दी रहे पनि स्वास्थ्य सहायकले सेवा दिइरहेको स्थानीयवासी हेम बमले बताए । उता जिल्लाकै जोरायल प्राथमिक स्वास्थ्य केन्द्रमा पनि मेडिकल अधिकृतको दरबन्दी भएपनि लामो समयदेखि मेडिकल अधिकृत नहुँदा स्वास्थ्य सहायकले नै बिरामीलाई सेवा दिइरहेका छन् ।
सुदूरपश्चिको एकमात्र डडेल्धुरा अस्पताल संघिय सरकार मातहतमा छ भने अरु दुई ठूला अञ्चल अस्पताल सेती र महाकाली तथा जिल्ला अस्पताल प्रदेश सरकार मातहतमा रहेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र र इलाका स्वास्थ्यचौकी स्थानीय तह मातहत गएपछि हरेक स्वास्थ्य संस्थामा सरकारी दरबन्दीका चिकित्सकदेखि अनमी, अहेबसम्मका स्वास्थ्यकर्मीको अभाव रहेको स्थानीय जनप्रतिनिधि बताउँछन् ।
सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय मातहतका सेती प्रादेशिक अस्पताल (साविकको सेती अञ्चल अस्पताल) कैलाली, महाकाली अञ्चल अस्पताल कञ्चनपुर तथा पहाडी जिल्ला बैतडी, दार्चुला, बझाङ, बाजुरा, अछाम र डोटीका जिल्ला अस्पताल कैलालीको टीकापुर अस्पताल रहेका छन् । छिमेकी जिल्ला डडेलधुरा अस्पतालमा १९ जना चिकित्सकको दरबन्दी रिक्त छ भने स्थानीय सरकार मातहत रहेका डडेलधुराको जोगबुडा अस्पतालमा पाँच चिकित्सकको दरबन्दी रहेकामा सबै दरबन्दी रिक्त रहेको छ ।
डडेल्धुरा अस्पतालमा नेपाल सरकारले १ सय ९ जनाको दरबन्दी रहने गरी स्वीकृति दिएको छ । स्वीकृत दरबन्दीमध्ये ३७ जनाको मात्रै पदपूर्ति भएको छ । पछिल्लो समय यहाँका अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको चाप बढे पनि चिकित्सक नहुँदा सबैले सेवा पाउन नसकेको डडेल्धुराका स्थानीय रमेश ऐरले बताए । “अस्पतालमा बिरामीको चाप दिनहुँ बढ्न थालेको छ, चिकित्सक नहुँदा बिरामीले उपचार पाउन सकेका छैनन” उनले भने ।
त्यस्तै अछामको जिल्ला अस्पतालमा पनि दुई जना चिकित्सकको स्थायी दरबन्दी रहे पनि लामो समयदेखि दुई जना करारका चिकित्सकले सेवा दिइरहेका छन् । चौरपाटी गाउँपालिकाको चौरमाडौं प्राथमिक स्वास्थ केन्द्र र कमलबजार बजार नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा दुई जना चिकित्सकको दरबन्दी रहे पनि अहिले रिक्त रहेको बताइएको छ ।