तिलोत्तमा नगरपालिकाको ३० महिने मध्यावधि समिक्षा, आधारभूत स्वास्थ्य सेवाको पहुँचलाई स्थापित गरिने



Download our app to get more features

रुपन्देही, २५ पुष । तिलोत्तमा नगरपालिकाले सबै वडामा सरकारी स्वास्थ्य संस्था स्थापना गर्ने लक्ष्यसहितको ३० महिने मध्यावधि समिक्षा गरेको छ ।

१७ वटा वडा रहेको तिलोत्तमा नगरपालिकामा हाल ७ वटा स्वास्थ्य चौकी सञ्चालनमा छन् । चालु आर्थिक वर्षमा ५ वटा निमार्णका चरणमा रहेको नगरप्रमुख बासुदेव घिमिरेले बताए ।

‘हामी स्वस्थ्य नगरबासी स्वच्छ नगरको नारा सहित काम गरिहेका छौं, प्रमुख घिमिरेले भने, ‘सबै नगरवासीमा आधारभूत स्वास्थ्य सेवाको पहँुचलाई स्थापित गर्ने गरी काम भैरहेको छ ।’ नगरपालिकामा हाल ३ वटा सहरी स्वास्थ्य केन्द्र र २ वटा वर्थिङ सेन्टर सञ्चालनमा छन् ।

प्रत्येक वडामा एउटा स्वास्थ्य संस्था रहने गरी बजेटको समेत व्यवस्था गरिएको छ । नगरपालिकाले नगरका स्थायी बासिन्दाका लागि रगतको सेवा शुल्कलाई निःशुल्क बनाउने व्यवस्था गरेको छ । नगरमा स्थायी बसोवास भएका व्यक्तिहरुले रक्त सञ्चार केन्द्रबाट रगत सेवा लिएमा वार्षिक १५ पोका बराबरको सेवा शुल्क बिलअनुसार शोधभर्ना दिने व्यवस्था मिलाएको प्रमुख घिमिरेले बताए । 

रगतका कारण कसैको ज्यान जोखिममा नपरोस् भन्ने उद्देश्यले बिलअनुसार शोधभर्ना दिने व्यवस्था मिलाएको बताए । नगरपालिकाले जयेष्ठ नागरिक तथा गर्भवती महिलाको सुत्केरी सेवाका लागि जिल्ला भित्रका स्वास्थ्य संस्थामा पु¥याउन निः शुल्क एम्बुलेन्सको व्यवस्थासमेत गरेको छ । महिला स्वास्थ्य स्वयंसेविकाको विदाइका लागि प्रतिव्यक्ति ३० हजार दिने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । 

गर्भवती र सुनौलो हजार दिनका बालबालिकाको पोषणमा सुधार ल्याउन सुत्केरीसँग उपमेयर कार्यक्रम समेत सञ्चालन भैरहेको मध्यावधी समिक्षामा उल्लेख छ । प्रत्येक संस्थाबाट संचालन हुने खोप कार्यक्रमको लागि भ्याक्सिन नगरपालिकाबाट वितरण हुँदै आएको घिमिरेले बताए ।

Last modified on 2020-01-13 11:59:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts