धनगढी उपमहानगरपालिका मै छैन आधारभुत स्वास्थ्य सेवा
चालु आर्थिक वर्षको पाँच महिना बितिसक्दा उपमहानगरको औषधि आएन

धनगढी, २४ पुस । कैलाली र कञ्चनपुरका अधिकांश स्थानीय तहले स्वास्थ्य संस्थाहरूको उचित व्यवस्थापन गर्न नसकेपछि नागरिकले आधारभुत स्वास्थ्य सेवाबाट समेत बञ्चित हुनु परेको छ । आधारभुत स्वास्थ्य सेवा समेत नपाउनेमा धनगढी उपमहानगरपालिकाका बासिन्दा पनि छन् । उपमहानगरपालिकाले मातहतका स्वास्थ्य संस्थाको उचित व्यवस्थापन गर्न नसक्दा आधारभुत स्तरको सेवा पाउँनबाट समेत नागरिक बञ्चित भएका छन् ।
स्वास्थ्य संस्थाका लागि आवश्यक औषधि खरिदलगायत व्यवस्थापन गर्न नसक्दा नगरवासीले आधारभुत स्वास्थ्य सेवा समेत नपाएका हुन् । शहरी स्वास्थ्य केन्द्रका प्रमुख कृष्णदत्त पन्तले पनि सरकारले अनिवार्य गरेका सबै औषधि वितरण गर्न नसकिएको स्वीकार गरे । उनले अहिले जिल्ला स्वास्थ्य कार्यालय र प्रादेशिक स्वास्थ्य व्यवस्थापन केन्द्रबाट औषधिको आपूर्ति गरिरहे पनि उपमहानगरपालिकाको बजेटले खरिद नभएको बताए । उपमहानगरपालिकाले चालु आर्थिक वर्षको ६ महिना बित्नै लाग्दा समेत स्वास्थ्य संस्थाका लागि आवश्यक औषधि खरिद गर्न नसकेको हो ।
खरिद प्रक्रियामै ढिलाइ
औषधि खरिद प्रक्रिया थाल्न नै ढिलाइ गरेपछि समस्या भएको हो । स्वास्थ्य सेवाको व्यवस्थापनका लागि मात्रै झण्डै साढे पाँच करोड छुट्याएको उपमहानगरपालिकाले गत कात्र्तिकमा मात्रै टेण्डर आह्वान गरी मंसिरमा ठेक्का सम्झौता गरेको स्वास्थ्य शाखा प्रमुख कुम्भराज शर्माले बताए ।
उनले अहिले प्रादेशिक स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्र र जिल्ला स्वास्थ्य कार्यालयबाटै आवश्यक औषधि खरिद गरी वितरण गरिरहेको जनाए । तर केही दिनभित्रै औषधि आपूर्ती गरिने दावी शर्माको छ ।
स्थानीय तहलाई १५ शैयासम्मको अस्पताल सञ्चालन र व्यवस्थापन गर्ने अधिकार भए पनि स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्रकै व्यवस्थापनमा धनगढी उपमहानगरपालिका असफल भएको हो । निर्वाचित जनप्रतिनिधीहरूको ध्यान जनसेवा भन्दा पनिस्वार्थ पूर्तीमा केन्द्रीत भएपछि आम नगरबासीले आधारभुत स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको गुनासो स्थानीयको छ ।
कर्मचारी समायोजन पक्रियामा ढिलाइ
धनगढीका जनप्रतिनिधिहरू भने नयाँ व्यवस्था भएका कारण केही समस्या भएको दावी गर्दै आएका छन् । उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले कर्मचारी समायोजनका कारण आउने जाने क्रम जारी रहेको बताए । उनले बजेट अभावले औषधि आपूर्तीमा केही समस्या भए पनि खरिद प्रक्रिया अगाडी बढाइसकेको दावी गरे ।