एम्बुलेन्स खरिद प्रकरणः वास्तविकता बाहिर ल्याउन मुख्यमन्त्रीको निर्देशन, लेखा समितिले अध्ययन गर्ने

धनगढी, २४ पुस । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीबिच बिहिवार विहान एम्बुलेन्स खरिद प्रक्रिया बारे छलफल भएको छ। मन्त्री सुवेदीलाई आफ्नै निवासमा बोलाएर मुख्यमन्त्री भट्टले एम्बुलेन्स खरिद बारेको विवादका विषयमा सोधपुछ गरेका हुन्।
मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले एम्बुलेन्स खरीदको वास्तविकता बाहिर ल्याउन मुख्यमन्त्रीबाट सामाजिक विकास मन्त्रीलाई निर्देशन समेत भएको बताए। उनका अनुसार आजै सामाजिक विकास मन्त्रालयले पत्रकार सम्मेलन गर्दै एम्बुलेन्स खरिदबारे प्रष्ट पार्नेछ।
लेखा समितिले अध्ययन गर्ने
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले १६ वटा एम्बुलेन्स खरिद प्रकणमा अनियमितता गरेको समाचार सार्वजनिक भएपछि प्रदेशको सार्वजनिक लेखा समितिले खरिद प्रक्रियाका कागजात अध्ययन गर्ने भएको छ। आज सार्वजनिक लेखा समितिकी सभापति प्रदेश सभा सदस्य कुमारी नन्दा बलमे एम्बुलेन्स खरिद सम्बन्धीका कागजात झिकाउने तयारी भईरहेको बताईन्।
‘एम्बुलेन्स खरिदका विषयमा विभिन्न प्रश्न उठेका छन,’ उनले भनिन, ‘कागजात अध्ययन नै नगरी अहिले नै अनियमितता भयो भन्न सकिदैन्। कागजात अध्ययनपछि सत्यतथ्य बाहिर आउँछ।’ उनले स्वास्थ्य निर्देशनालयले ८८ अल्ट्रासाण्ड खरिद गर्दा पनि अनियमितता भएको देखिएपछि अहिले कागजात अध्ययन गरिरहेको समेत जानकारी दिईन्।
यो पनि:
सुदूरपश्चिम सरकारको 'खुराफाती' : काम नलाग्ने ट्रकलाई एम्बुलेन्स बनाएर स्थानीय तहलाई बाँड्यो