उपचार खर्च तिर्न नसक्दा अस्पतालमै रहेकी ठगिसरा मन्त्रीको पहलमा घर फर्किईन्



Download our app to get more features

रुपन्देही, २४ पुष । आर्थिक अभावका कारण अस्पतालमा बन्धक बनेका बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

तिलोत्तमा नगरपालिका स्थित क्रिमसन अस्पतालमा उपचाररत पाल्पा रामपुर नगरपालिका ४ की ठगिसरा सोमै (पुजा सोमै) को उपचार शुल्क सामाजिक विकासमन्त्रि सुदर्शन बरालको पहलमा छुट गराई अस्पतालबाट बुधबार घर पठाईएको हो । 

मन्त्री बरालको पहलमा १८ वर्षीया ठगिसराको उपचारमा लागेको शुल्क अस्पताल प्रशासन छुट गर्न सहमत भएको थियो । ८४ दिन अस्पतालमा भर्ना हुँदा एक लाख ६२ हजार ४ सय रुपैयाको विल भएको थियो । बिरामी सोमैको माईतीले आर्थिक संकलन गरी ८७ हजार ९ सय ३० रुपैया शुल्क अस्पताललाई बुझाई सकेका थिए ।

७४ हजार ४ सय ७० रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको थियो ।  चिकित्सकले घर लैजान सुझाव दिएपनि वाकी शुल्क बुझाउन नसकेका कारण घर जान दिइएको थिइएन । गत असोज  ८ गते  श्रीमान भूमबहादुर सोमैले पुजाको टाउकोमा प्रहार गरी ठूलो चोट लाग्ने गरी घाईते बनाएका थिए ।

असोज २९ गतेदेखि सम्म पाल्पा लुम्बिनी मेडिकल कलेजमा भर्ना गएकोमा त्यहा निको नभएकाले तिलोत्तमा स्थित क्रिमसन अस्पतालमा भर्ना गरिएको पुजाको सहोदर दाजु निस्दी गाउपालिकाका सुवास परियारले जानकारी दिए ।

चिकित्सकले एक महिना अघि नै घर लैजान डिस्चार्ज दिएपनि शुल्क तिर्न नसकेकाले घर फर्कन नसकेको अवस्थामा मन्त्री सुदर्शन वरालको पहलमा वहिनीलाई लिएर घर फर्किएको बताए  । सहयोगको लागी अन्यत्र धेरै धाईयो मन्त्री ज्यूले अस्पतालमा भनिदिएपछि शुल्कमा छुट पायौ । उनले भने– घर सम्म पुराउने व्यवस्था पनि मिलाईदिनु भयो । 
 
क्रिमसन अस्पतालका अध्यक्ष चिन्तामणि पाण्डेले बिरामीको आर्थिक अवस्था कमजोर  भएको र मन्त्री ज्यूको आग्रहमा बाँकी शुल्क छुट गरी बिरामीलाई घर पठाईएको जानकारी दिए । सामाजिक विकास मन्त्री सुदर्शन बरालले कुनै पनि अस्पतालले १० प्रतिशत बिरामीलाई विपन्नताका आधारमा निःशुल्क उपचार गर्नुपर्ने प्रावधान रहेको बताउदै त्यसलाई प्रभावकारी रुपमा लागु गरिने बताए ।

घरेलु हिंसा पिडित ठगिसराको उपचारमा अस्पतालले गरेको सहयोग श्रहानीय भएको उनले बताए ।

Last modified on 2020-01-09 15:28:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts