चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष भन्छन्ः प्रसाईंको भनाइ खेदपूर्ण छ
काठमाडौं, २३ पुस । बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले घुस मागेको आरोप लगाएका चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले त्यसको खण्डन गरेका छन् ।
बुधवार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रसाईले आफ्नो कलेजलाई सम्बन्धन दिने प्रकृया अघि बढाउन २० करोड घुस मागिएको दावी गरेसँगै डा. गिरीले पत्रकार सम्मेलन गरेका हुन् । सम्मेलनका क्रममा डा. गिरीले प्रसाईको सो भनाइले आफुलाई आश्चर्यचकित बनाएको भन्दै खेद प्रकट गरे । 'विभिन्न सञ्चारमाध्यममा दुर्गा प्रसाईजीले भनेको विषय सुनें । त्यो सुन्दा म आश्चर्यचकित परेको छु । यो पूर्णत कपोलकल्पित र भ्रामक कुरा हो । चिकित्सा क्षेत्रमा ४० वर्ष र चिकित्सा शिक्षा क्षेत्रमा २० वर्ष समय बिताइसकेको मलाई यस्ता कुनै प्रलोभन हुने कुरै भएन ।' उनले थपे ।
डा. गिरीले ऐन अन्तर्गत चिकित्सा शिक्षा आयोग सञ्चालनमा आएको र त्यसले सक्रियतापूर्वक काम गरिरहेको दावीपनि गरे । यद्यपी उनले बीएण्डसी मेडिकल कलेजले सम्बन्धन पाउन वा नपाउने भन्ने विषयमा भने स्पष्टसँग कुनै जवाफ दिएनन् ।