औषधि व्यवस्था विभागमै फर्किने भए ढकाल, भोलि पत्र दिने तयारीमा मन्त्रालय

काठमाडौं, २२ पुष । औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी नारायण ढकाललाई भोलि पत्र दिइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभागबाट काजमा मन्त्रालय तानिएका ढकाललाई मंगलबार पुनः विभागकै जिम्मेवारीमा फर्काउने निर्णय गरेको हो ।
ढकाललाई जिम्मेवारी दिने विषयमा निर्णय भइ पत्र समेत तयार भइसकेको र बुधबार पत्र दिइने तयारी भएको छ ।
ढकाललाई तत्कालिन स्वास्थ्य मन्त्री उपेन्द्र यादवले विभागबाट राष्ट्रिय औषधि प्रयोगशालामा सरुवा गरेका थिए । ढकालको स्थानमा विभागकै १० औं तहका कर्मचारी पानबहादुर क्षेत्रीलाई विभागिय प्रमुखको जिम्मेवारी दिइएको थियो ।
ढकालले प्रयोगशालामा नजाने भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । सर्वोच्चबाट अन्तरिम आदेश पाएपछि ढकालले पुनः विभागिय प्रमुखको जिम्मा पाएका थिए ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले ११ औं तहका कर्मचारीलाई काजमा राख्नु उचित नहुनेभन्दै विभागको महानिर्देशकका रुपमा पुरानै जिम्मेवारीमा फर्काउने निर्णय गरेका हुन् ।