योग तथा प्राकृतिक अस्पतालहरुको संगठन बन्यो, स्पष्ट कानुनी व्यवस्था गर्न सरकारसँग माग



Download our app to get more features

काठमाडौं, २२ पुस । प्राकृतिक तथा वैकल्पिक चिकित्सा सेवा दिने अस्पतालहरुले संगठन निर्माण गरेका छन् । प्राकृतिक तथा योग हस्पिटल एशोसियसन (निहान) नाम दिइएको सो संगठनको मंगलवार राजधानीमा घोषणा गरिएको छ । 

अकुपञ्चरिस्ट तथा सुस्वास्थ्य प्राकृतिक अस्पतालका अध्यक्ष सुदर्शन बस्नेतको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । राजधानीमा पत्रकार सम्मेलन गर्दै एशोसियसनले संस्थाको आवश्यक्ता, औचित्य र उदेश्यका बारेमा जानकारी दिएको छ । एशोसियसनमा अध्यक्ष बस्नेतका साथै वरिष्ठ उपाध्यक्षमा डा. जनक बस्नेत, उपाध्यक्षहरुमा डा. दीपा पाण्डे, डा. रविनलाल श्रेष्ठ र हरि सापकोटा रहेका छन् । त्यस्तै, महासचिवमा रुपेश अधिकारी र कोषाध्यक्षमा डा. आनन्द गैरे रहेका छन् । एशोसियसनमा  डा. ऋषिराज बराकोटी (क्षितिज), डा. आयुषा अधिकारी, नमिता न्यौपाने, ध्रुब घिमिरे, सरस्वती पन्थी भुषाल र शिव अधिकारी रहेका छन् । 

एशोसियसनको घोषणा कार्यक्रममा तदर्थ समितिका अध्यक्ष सुदर्शन बस्नेतले योग तथा प्राकृतिक चिकित्सा पद्धतिको विस्तार, व्यवसायी तथा अस्पताल सञ्चालकहरुको हकहित प्रवद्र्धनका लागि संस्था निर्माण गरिएको बताए । हालसम्म मुलुकमा ५० भन्दा बढी प्राकृतिक अस्पताल सञ्चालनमा रहेको र सो क्षेत्रमा दुई अर्बभन्दा बढी लगानी रहेको बस्नेतले बताए । एशोसियसनका अनुसार देशभर यस व्यवसायले करिब दुई हजार रोजगारी सिर्जना गरेको छ भने वार्षिक दुई लाख भन्दा बढी मानिसले प्राकृतिक उपचार सेवा लिने गरेका छन्  । एशोसियसनका अनुसार नेपालमा हालसम्म ५९ जना प्राकृतिक चिकित्सक दर्ता रहेका छन् । त्यस्तै भारतमा वर्षेनी ३० जना विद्यार्थी प्राकृतिक चिकित्सा अध्ययनका लागि जाने गरेको तथ्यांक रहेको एशोसियसनले प्रस्तुत गरेको आंकडामा उल्लेख छ । 

संस्थाले प्राकृतिक चिकित्साका विधाहरुलाई समेट्ने गरी सरकारको स्पष्ट नीति एवं कानून नरहेको गुनासो पनि गरेको छ । यसप्रकारका अस्पताल र क्लिनिकहरुलाई व्यवस्थित गर्न भएका निर्देशिकाहरु पनि अव्यवहारिक र अपूर्ण रहेको उनीहरुको भनाइ छ । एशोसियसनले संघीय सरकार र प्रदेश सरकारहरुलाई योग तथा प्राकृतिक चिकित्सालाई व्यवस्थित र मर्यादिन बनाउन छुट्टै निकाय गठन गर्न पहल गर्ने जनाएको छ ।

Last modified on 2020-01-13 12:18:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts