अस्पताल कर्मचारी कै मिलेमतोमा बिरामी निजीमा पठाइने गरेको पाइयो : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौं, २२ पुस । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारी अस्पतालकै कर्मचारीको मिलेमतोमा बिरामीहरूलाई निजी अस्पताल पठाउने गरेको पाइएको बताएका छन् । कान्ति बाल अस्पतालमा मंगलबार आयोजित वार्षिकोत्सव कार्यक्रममा स्वस्थ्यमन्त्री ढकालले अस्पतालका जिम्मेवार कर्मचारी, एम्बुलेन्स चालकलगायतले कमिशनको लोभमा मिलेमतोमा बिरामी निजी अस्पताल पठाउने गरेको पाइएको बताएका हुन् ।
बिरामी र परिवारका लागि अस्पताल आस्थाको केन्द्र भए पनि अस्पताल आफै बिरामी भए बिरामीहरूको हालत पक्कै स्वभाविक नहुने उनले बताए । उनले भने, ‘धेरैजसो बिरामी सुरुमा सरकारी अस्पताल आइपुग्छन् । बीचको अवधिमा काजमा बाहिर जान्छन् । फेरि सरकारी अस्पतालमै आउँछन भन्ने कुरा सुनेको छु ।’ मन्त्री ढकालले सरकारी अस्पतालको अवस्था सुधार गर्न पहिला चिकित्सक र कर्मचारीको आचरण र व्यवहारमा सुधार गर्नु पर्ने पनि बताए । यसरी निजी क्लिनिकहरुको घेराबन्दीमा सरकारी अस्पताल पर्नु राम्रो नभएको मन्त्री ढकालले चिन्ता व्यक्त गरे । उनले कर्मचारी सरुवा गर्दा शुल्क बुझाउने परिपाटीको निर्ममतापूर्वक अन्त्य गर्ने र औषधि खरिदबिक्रीमा हुने कमिसनको खेल पनि अन्त्य गर्ने प्रतिबद्धता कार्यक्रममा जनाए ।