प्राथमिकताका आधारमा योजना बनाएर अघि बढ्न स्वास्थ्य राज्यमन्त्रीको निर्देशन

चितवन, २१ पुष । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर अस्पतालको निरीक्षण गरेका छन् ।
आईतबार अस्पतालको निरीक्षण गर्न उनी चितवन पुगेका हुन् । निरिक्षणको क्रममा उनले सरकारी अस्पतालबाट नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिए । उनले नागरिकले सहजरुपमा स्वास्थ्य सेवा पाउनुपर्ने भन्दै सेवालाई सहज बनाउन पनि निर्देशन दिए ।
उनले भने, “सबै नागरिकले अस्पताल आएपछि सर्वसुलभरुपमा उपचार पाउनुपर्छ, नागरिकले राज्यको अनुभूति पाउनेगरी काम गर्नुहोस् ।” मन्त्री रावतले सेवा र व्यवस्थापकीय पक्षमा ध्यान दिन चिकित्सक तथा कर्मचारीलाई आग्रह समेत गरे । “ऐन नियमले असहजता भए, संस्थागतरुपमा आउनुहोस्, तर त्यो जनताका पक्षमा हुनुपर्छ”, उनले भने ।
अस्पताल सुधारका लागि चिकित्सक, स्वास्थ्यकर्मी र सबै कर्मचारी खटिनुपर्नेमा जोड दिँदै राज्यमन्त्री रावतले अस्पतालको सुधारका लागि प्राथमिकताका आधारमा योजना बनाएर अघि बढ्न आग्रह गर्दै बजेटेको अभाव नहुने बताए ।
क्यान्सर अस्पतालका कार्यकारी निर्देशक विजयचन्द्र आचार्य र भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट श्रीराम तिवारीले अस्पतालको अवस्थाका बारेमा जानकारी गराएका थिए ।