बाजुरा जीप दुर्घनामा मृत्यु भएकाहरुको चार दिनपछि पोष्टमार्टम
बाजुरा, २१ पुष । बाजुराको हिमाली गाँउपालिका– ७ बाधुको कालापडा भिरबाट सडक दुर्घटनामा परेका मृतकको शव चार दिनपछि पोष्टमार्टम गरिएको छ । कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा चार दिन पछि पोष्टमार्टम भएर आफन्तले आइतबार शव बुझेका छन् ।
बिहिबार कालापडा भिरबाट कर्णाली नदिमा जिव खस्दा ४ जनाको मृत्यु भएका थियो, भने एकजना अझै बेपत्ता छन् । कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा पाँच महिनादेखि चिकित्सकविहिन बन्दै आएको छ। जिल्ला अस्पताल बाजुरामा पाँच जना चिकित्सक छन, तर हिमपातका कारण जिल्ला अस्पतालबाट डाक्टर जान नसक्दा समस्या भएको थियो ।
शनिवार मात्र डा. राजु जोशीको नेतृत्वमा टोलि जिल्ला अस्पताल बाजुराबाट खटाईएको चारदिनपछि आइतवार पोष्टमार्टम भएकोे जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपन्द्र विश्वकर्माले बताएका छन् । चार दिनसम्म पनि शव पोष्टमार्टम नहुँदा चारै शव कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएका थिए ।
कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा त्यो क्षेत्रका चारवटा स्थानीय तह, हुम्ला र मुगुका बासिन्दाले समस्या भोग्दै आएका छन् ।