चिकित्सक संघमा प्यानल बिनै महासचिव उठेका डा. पाण्डेको यस्तो छ कार्ययोजना

काठमाडौं, २० पुस । नेपाल चिकित्सक संघको २८ औं कार्यसमिति चयन गर्नका लागि आगामि माघमा दुइचरणको निर्वाचन हुँदै छ । ४ र ५ माघमा काठमाडौं उपत्यका बाहिरका लागि र १७ देखि २१ माघसम्म काठमाडौं उपत्यकामा निर्वाचन हुने तालिका छ ।
संघको निर्वाचनमा लोकतान्त्रिक समुह र समावेशी पेशागत गरी दुई प्यानल चुनावी मैदानमा छ । तर संघको २८ औं कार्यसमितिको महासचिवका पदका लागि डा. दिपेन्द्र पाण्डेले प्यानल बाहिरै रहेर उम्मेदवारी दर्ता गराएका छन् । लामो समयदेखि चिकित्सकका आन्दोनलमा अग्रसर रहेका डा. पाण्डे सरकारी चिकित्सक संघका अध्यक्ष समेत रहेका छन् ।
डा. पाण्डेले प्यानल वाहिरबाट उम्मेदवारी दिएको भएपनि आफु एक्लो नभएको बताए । उनले आफुलाई युवा चिकित्सक साथै आफुभन्दा सिनियर चिकित्सकहरुको पनि साथ र समर्थन रहेको बताए ।
१० वर्षदेखि आफुले मेडिकल एक्टिभिस्टको रुपमा काम गर्दै आएको उनले दावी गरे । सडकमा बसेर उठाएका मुद्दालाई पूणर्ता दिन कार्यसमितिमा जान लागेको उनले बताए । हाम्रो डाक्टरसंग कुरा गर्दै पाण्डेले सडकमा बसेर उठाएका नारा कार्यन्यनमा आउन नसकेको बताए । जेल विथ आउट बेल, ३ एस लगायतका नारा नारामै सीमित रहेको भन्दै त्यसलाई कार्यान्वयनमा ल्याउन आफु प्रतिवद्ध रहेको उनको जिकिर छ । ३ एस मध्येको एउटा एस भन्नाले चिकित्सकको तलव, अर्काे एस सुरक्षा र तेस्रो एस विशेषज्ञता रहेको छ । चिकित्सकको तलव कम छ, अर्काे स्वास्थ्यकर्मी र स्वास्थ्यसंस्थाको सुरक्षा विषयपनि मजवुत छैन । त्यसलाई बलियो पार्न आफु कटिबद्ध भएर लागिपर्ने उनले योजना सुनाए ।
चिकित्सकले विशेषज्ञता गर्नका लागि सिट कम छ । त्यसलाई बढाउन आवश्यक पर्छ । संघको कार्यसमितिमा पुगियो भने यी कुरालाई कार्यान्वयनमा ल्याउन सकिन्छ भन्नेबाट उत्प्रेरीत भएर चुनावमा उठेको उनको भनाइ छ ।
त्यस्तै चिकित्सकको ओपिडी शुल्क पनि २०७१ सालमा अवैज्ञानिक तरिकाले तोकिएको भन्दै यसलाई परिमार्जन गर्ने प्रतिबद्धतापनि डा पाण्डेले व्यक्त गरे ।
नेपाल चिकित्सक संघमा हाल १० हजार मात्र चिकित्सक रहेको तर नेपाल मेडिकल काउन्सिलमा २७ हजार चिकित्सक दर्ता भएको भन्दै संघमा सदस्यता वृद्धि गर्ने सन्दर्भमा ७५ प्रतिशत चिकित्सक सदस्य पुर्याउने लक्ष्य पनि पाण्डेले सुनाएका छन् । २०२० मा नेपाल मेडिकल एसोसिएसन मेम्वरसिप क्याम्पीयन चलाउने र कम्तीमा ७५ प्रतिशत सदस्य बनाउने पाण्डेको दावी छ ।
चुनावी प्रचारप्रसार नेपालको पूर्वीभेक सकेर अहिले काठमाडौंमा व्यस्त रहेका डा. पाण्डेले आफुले चुनाव जित्नेमा ढुक्क रहेको बताए ।