डाक्टर नहुँदा बाजुरा जीप दुर्घटनामा मृत्यु भएकाहरुको पोष्टमार्टम हुन सकेन



Download our app to get more features

बाजुरा, १८ पुष । बाजुरामा जीप दुर्घटनामा परि मृत्यु भएकाहरुको डाक्टर अभावका कारण पोष्टमार्टम हुन सकेको छैन ।

हिमाली गाउँपालिको भीरबाट कर्णाली नदीमा जीप खस्दा ज्यान गुमाएका ४ जनाको पोष्टमार्टममा ढिलाई भएको हो । प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा डाक्टर नहुँदा अहिलेसम्म पोष्टमार्टम हुन नसकेको हो । हिमपातका कारण जिल्ला अस्पताल मार्तडीबाट डाक्टर जान नसक्दा झनै समस्या भएको छ । 

बिहीबार साँझ नै मृतकको शव कोल्टी पुर्याइए पनि अझै पोष्टमाटर्मका लागि प्रक्रिया अघि नबढेको स्थानीय अगुवा जनक बिष्टले बताए । मृतकका आफन्तहरु कोल्टी पुगे पनि शव कुर्दी बसिरहेका छन् । कालिकोटबाट डाक्टर बोलाएर पोष्टमार्टम गर्नुको विकल्प नरहेको र त्यसका लागि स्थानीय प्रशासनले पहल गर्नुपर्ने माग पीडित पक्षको छ ।

बिहीबार दिउँसो कर्णाली करिडोर अन्र्तगत हिमाली गाउँपालिका ७ बाँधुस्थित कालापडा भीरमा से १ ज १०६४ नम्बरको जिप कर्णाली नदीमा खस्दा चार जनाको मृत्यु भएको थियो। दुर्घटनामा जीप मालिक जगन्नाथ गाउँपालिका ५ गोत्रीका २७ वर्षका रमेश शाही, हिमाली गाउँपालिका ६ धुलाचौर बस्ने ३५ वर्षका पवन भण्डारी, कैलाली महोन्याल गाउँपालिका ५ बस्ने ३३ वर्षका दिनेशकुमार घर्तीमगर र मुगुको कर्मारोड गाउँपालिका ८ बस्ने ३८ वर्षका प्रेमा लामाको मृत्यु भएको थियो ।  

चार जना घाइतेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । १३ वर्षकी बालिका शुशिला विक अझै बेपत्ता छिन् । लगातारको बर्षाका कारण प्रहरीलाई नदीमा गएर खोजी गर्न समस्या भइरहेको प्रहरीले जनाएको छ ।

Last modified on 2020-01-13 12:14:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts