स्तन क्यान्सर पत्ता लगाउन चिकित्सकभन्दा एआई ‘बढी प्रभावकारी’



Download our app to get more features

बीबीसी, १७ पुष । म्यामग्राम हेरेर स्तन क्यान्सर भएको पत्ता लगाउन चिकित्सकहरूभन्दा आर्ट्फिशल इन्टेलिजन्स (एआई) बढी प्रभावकारी हुने एउटा अनुसन्धानले देखाएको छ ।

गुगल हेल्थ र इम्पीरीअल कलेज लन्डनका अनुसन्धानकर्तासहित विभिन्न देशका वैज्ञानिकहरू सम्मिलित एउटा समूहले एउटा विशेष खालको कम्प्युटर विकसित गरी त्यसलाई झन्डै २९ हजार महिलाको म्यामग्राम अर्थात् स्तनको एक्स–रे विश्लेषण गर्न प्रशिक्षित गर्यो ।

म्यामग्राम विश्लेषण गर्ने काममा कम्प्युटर एल्गरिदमले छजना रेडिओलजिस्टलाई उछिनिदियो ।

एआई सो काममा दुई चिकित्सकको क्षमताबराबर भएको पाइयो । मानवलाई जस्तो एआईलाई थकाइ लाग्दैन । विज्ञहरूका अनुसार क्यान्सर पत्ता लगाउने एआईको क्षमतालाई अझै सुधार्न सकिन्छ ।
 
उक्त अनुसन्धानको परिणाम नेचर जर्नलमा प्रकाशित भएको छ ।

एआई कति प्रभावकारी ?
यूकेको राष्ट्रिय स्वास्थ्य प्रणाली एनएचएसमा प्रत्येक महिलाको स्तनको एक्स–रे विश्लेषण गर्न दुई रेडिओलजिस्ट खटाइन्छ ।

क्यान्सर भए वा नभएको विषयमा उनीहरूको मत बाझियो भने कहिलेकाहीँ तेस्रो चिकित्सक पनि सहभागी हुन्छन् ।

यो अनुसन्धानात्मक अध्ययनमा एआईको एउटा मोडललाई सम्बन्धित महिलाको नाम थाहा नहुनेगरी बेनामी एक्स(रेहरू उपलब्ध गराइयो ।
 
विज्ञहरूलाई बिरामीको रोगसम्बन्धी विवरण थाहा हुन्छ । तर एआईलाई म्यामग्राम अर्थात् स्तनको एक्स(रे मात्र उपलब्ध गराइएको थियो ।

एआईले गरेको विश्लेषण दुई चिकित्सकले विश्लेषण गर्ने विद्यमान प्रणालीजति नै सही भएको पाइयो ।

अझ एक चिकित्सकले स्तन क्यान्सर भएको पत्ता लगाउनुभन्दा एआईको विश्लेषण बढी प्रभावकारी भएको पाइयो ।

एआईले स्तन क्यान्सर निदान गर्दा फल्स पजिटिभ र फल्स नेगटिभको सङ्ख्या पनि उल्लेख्य रूपमा कम भयो ।

अब के होला ?
गुगल हेल्थका डोमिनिक किङले अध्ययनले पत्ता लगाएको कुराप्रति आफ्नो समूह गौरवान्वित भएको बताएका छन् ।

यसबाट चिकित्सकहरूलाई अझै प्रभावकारी ढङ्गमा स्तन क्यान्सर पत्ता लगाउन सहयोग र्पुयाउने विधि विकसित गर्न सकिने उनको अपेक्षा छ ।

अध्ययनका लागि प्रयोग गरिएका अधिकांश म्यामग्रामहरू क्यान्सर रिसर्च यूकेको अप्टिम्याम डेटासेटबाट लिइएको थियो ।

म्यामग्रामको विश्लेषण गर्ने दक्षता भएको चिकित्सक र रेडिओलजिस्ट तयार पार्न १० वर्षको अध्ययन र तालिम चाहिन्छ ।

स्तन क्यान्सरको निदान गर्न एक्स–रे हेर्नु महत्त्वपूर्ण हुन्छ । तर त्यो कामका लागि धेरै समय लाग्छ ।

Last modified on 2020-01-13 12:07:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts