कञ्चनपुरको कृष्णपुरमा आधारभुत स्तरको स्वास्थ्य सेवा नहुँदा नागरिकलाई समस्या

कञ्चनपुर, १५ पुष । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा जनप्रतिनिधि आएको साढे दुई वर्ष हुँदा पनि आधारभुत स्तरको स्वास्थ्य सेवा नहुँदा समस्या भएको छ । दुई दशकदेखि जनप्रतिनिधि विहीन स्थानीय तहमा सिंहदरबार नै आएको नारा लगाईए पनि कृष्णपुरका नगरवासीले आधारभुत स्वास्थ्य सेवा समेत पाउन सकेका छैनन् ।
स्वास्थ्य तर्फको धेरै अधिकार स्थानीय तहलाई दिईएको छ तर सेवा प्रवाहमा कुनै फरक नदेखिएको स्थानीय लेखराज जोशीले बताए । ‘समान्य उपचारको लागि पनि महेन्द्रनगरका निजी क्लिनिक तथा महाकाली अस्पताल र धनगढीको सेती प्रादेशिक अस्पताल धाउनुपर्ने बाध्यता छ ।’ जोशीले भने ‘गाउँमै आएको सिंहदरबारले स्थानीयका सबै समस्या समाधान गर्ने दावी गरेपनि समान्य स्वास्थ्य सेवा लिन अन्यत्र भौतारिनुपर्ने बाध्यता हट्न सकेको छैन् ।’
९ वटा वडा रहेको कृष्णपुरमा ६ वटा मात्रै स्वास्थ्य संस्था रहेका छन् । त्यसमा पनि अधिकांश सेवा सुचारु हुन सकेको छैन् । विगत लामो समयदेखि घर नजिकै स्वास्थ्य सेवा पाउनबाट बञ्चित कृष्णपुरका स्थानीयमा जनप्रतिनिधि आएसँगै धेरै विषयमा सहजता तथा सुधार हुने आशा पलाएको थियो । तर, स्थानीय तहमा निर्वाचन भएको साढे दुई वर्ष हुँदा पनि कृष्णपुरका बासिन्दालाई सिंहदरबार आएको अनुभुती हुन नसकेको हो ।
स्थानीय तहलाई १५ शय्या सम्मको अस्पताल सञ्चालनको अनुमती संगै आधारभुत स्वास्थ्य सेवाको जिम्मेवारी दिईएको छ । तर, नगरपालिकामा दुई वटा सहरी स्वास्थ्य केन्द्र, दुई वटा स्वास्थ्य चौकी र दुई वटा स्वास्थ्य इकाई रहेको नगरपालिकाका स्वास्थ्य संयोजक नन्दलाल बोहराले बताए । कृष्णपुरमा ६ वटा स्वास्थ्य संस्था भएपनि दुईवटा मात्रै वर्थिङ सेन्टर रहेको छ ।
प्रत्येक वर्ष स्वस्थ्यमा मात्रै लाखौँ बजेट खर्च गर्दै आएको नगरपालिकाले चालु वर्षमा स्वास्थ्य सेवा सुधारका लागि २० लाख बजेट विनियोज गरेको छ । जसमा १० लाख बराबरको औषधि पहिलो चरणमा खरिद गरिएको छ । औषधि खरिदमा लागानी गर्दै आएको नगरपालिकाले सेवा सुधारमा भने लगानी नगरेको हो ।
१५ शय्याको अस्पताल निर्माण गर्नको लागि नगरपालिका आन्तरिक तयारीमा जुटेको प्रमुख प्रशासकिय अधिकृत विष्णुदत्त भट्टले बताए । ‘तर प्रक्रिया भने अगाडी बढन सकेको छैन् ।’ उनले भने ।