स्वास्थ्य क्षेत्र सुधारका लागि प्रतिबद्ध छु : मन्त्री ढकाल

काठमाडौं, १४ पुस । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रको सुधारका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाल अर्वुदरोग निवारण संस्थाका पदाधिकारीसँग शुक्रबार आफ्नै कार्यकक्षमा भेटघाट गर्दै मन्त्री ढकालले स्वास्थ्य क्षेत्रको विकास र सुधार आफ्नो प्राथमिकतामा रहेका कारण सबैसँग मिलेर अघि बढ्ने प्रतिवद्धता समेत जनाए ।
नेपाल अर्वुदरोग निवारण संस्थाका केन्द्रीय अध्यक्ष ईश्वर श्रेष्ठ, उपाध्यक्ष कृष्ण बस्नेत, महासचिव विमल होडा, कार्यालय प्रमुख शुरेस सापकोटा लगायतका पदाधिकारीले मन्त्री ढकाललाई भेटघाट गरेका थिए ।
प्रतिनिधिमण्डलले संस्थाले हालसम्म गरेका गतिविधि, संस्थाको आसन्न २९ औं केन्द्रिय अधिवेशन, नेपाल अर्वुदरोग निवारण संस्था, भक्तपुर क्यान्सर अस्पतालको वर्तमान अवस्था र समस्या समाधानका लागि मन्त्रालयले चाल्नुपर्ने कदमका बारेमा मन्त्री ढकाललाई जानकारी गराएको थियो । साथै नेपाल अर्वुदरोग निवारण संस्था, लाहान क्यान्सर केयर सेन्टरबारे पनि जानकारी गराइएको थियो ।