औषधिबारे जानकारीमूलक मोबाइल ‘एप’ सञ्चालनमा ल्याउने तयारीमा सरकार

चितवन, १४ पुष । सरकारले नेपालमा प्रायःजसो प्रयोगमा आउने औषधिबारे जानकारीमूलक मोबाइल ‘एप’ सञ्चालनमा ल्याउने भएको छ ।
औषधि व्यवस्था विभागले आइतबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा एपबारे जानकारी दिएको हो । विभागले सञ्चालनमा ल्याउने एप सरकारी तवरबाट सञ्चालित पहिलो औषधिसम्बन्धी एप हुनेछ ।
विभागले ६ सय प्रकारका औषधि र तिनको विस्तृत जानकारी समेटिएको ‘नेप्लिज नेसनल फमुलरी’ एप सार्वजनिक गरेको हो । विभागका अनुसार चिकित्सक, उपभोक्ता तथा सरोकारवाला पक्षले औषधिसँग सम्बन्धीत सूचनाको स्रोतका रूपमा एपको प्रयोग गर्न सक्नेछन् ।
चिकित्सकले धेरै मात्रामा सिफारिस गर्ने ६ सयभन्दा बढी औषधि (विभिन्न जेनेरिक) बारे एपमा सूचना उपलब्ध हुने औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक पानबहादुर क्षेत्रीले बताए । केही प्राविधिक कारणले ढिलाई भएको जनाकारी दिँदै क्षेत्रीले जनवरी
२ तारिख भित्रमा एप सुचारु हुने पनि जानकारी दिए ।
एप डाउनलोड गरेर प्रयोगकर्ताले औषधिको प्रयोग गर्न सकिने अवस्था, त्यसबाट हुने असर, साइड इफेक्ट, सावधानी आदिबारे जानकारी लिन सक्ने र ठगिनबाट जोगिने विश्वास विभागको छ ।