सैनामैनामा निःशुल्क स्वास्थ्य शिविर: ६ सयभन्दा बढी महिलाको पाठेघर र स्तन क्यान्सरको जाँच



Download our app to get more features

रुपन्देही, १३ पुष । सैनामैना नगरपालिका, रोटरी क्लव अफ सैनामैनाको आयोजना तथा रोटरी क्लव अफ ऐला र रोट्रयाक्ट क्लव अफ सैनामैनाकोे सहयोगमा एक दिने निःशुल्क महिला पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

सैनामैना ६ कलौनी स्थित रामापुर माविमा शनिबार भएको शिविर ग्रामीण क्षेत्रमा रहेका महिलाहरुलाई स्वास्थ्यको विषयमा जनचेतना जगाउने र उपचारको पहुँचमा पुर्याउने उद्देश्यले आयोजना गरिएको हो । शिविरमा करिब ६ सय ३० जनाले सेवा लिएको रोटरी क्लव अफ सैनामैनाका अध्यक्ष प्रेम कुमार शर्माले बताए ।

उद्दघाटन समारोहमा बोल्दै सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले सामाजिक संस्थासँगको सहकार्यमा नगरपालिकाले काम गर्न पाउनु गौरवको विषय भएको बताए । उनले पाठेघर र स्तन क्यान्सरको उपचार समयमै गर्नसके निको हुने बताउँदै महिलाहरू स्वास्थ्यप्रति बढी संवेदनशील हुनुपर्ने धारणा राखे ।

नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टर काठमाडांैका फाउण्डर डा.सुदिप श्रेष्ठले पाठेघर तथा स्तन क्यान्सरको परिचय, लक्षण, कसरी बच्ने लगायतका बारेमा प्रष्ट पारेका थिए ।

महिलाहरुले कुनै पनि प्रकारको लाज र डर नमानी परीक्षणका लागि अस्पताल जानुपर्नेमा जोड दिँदै यसका लागि सचेतना जगाउनुपर्ने उनले धारण राखे । स्तन क्यान्सरको विषयमा धेरै मानिसलाई पर्याप्त जानकारी नभएको समेत श्रेष्ठले जानकारी गराए । 

शिविरमा ३ जना महिलामा पाठेघरको बढी समस्या देखिएको र ल्याबमा परीक्षण गरिसकेपछि मात्र यकिन समस्या पत्ता लाग्ने क्यान्सर रोग विशेषज्ञ डा. श्रेष्ठको भनाइ छ ।  त्यस्तै केही महिलामा स्तन सम्बन्धी पनि समस्या देखिएको छ । 

शिविर नेपाल क्यानसर सहयोग समुह तथा नेपाल क्यानसर हस्पिटल एण्ड रिर्सच सेन्टर काठमाडांैको प्राविधिक सहयोगमा सम्पन्न भएको क्लवका ईलेक्ट प्रेसिडेन्ट एवम् कार्यक्रम संयोजक दुर्गा गौतमले बताए ।

यसैगरी रोटरी क्लव अफ सैनामैनाले शनिबार क्यान्सर सम्बन्धि सचेतनामुलक कार्यक्रमको आयोजना समेत गरेको थियो । स्तन क्यानसर, यसको जोखिम र नियन्त्रण गर्ने उपायबारे कार्यक्रममा छलफल गरिएको थियो ।

Last modified on 2019-12-29 06:56:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts