क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक शल्यकक्ष सञ्चालनमा, अब अप्रेसन गर्न महिनौ कुर्न नपर्ने

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा ८ वटा शल्यकक्ष सहितको अत्याधुनिक मोडुलर अप्रेशन थिएटर (ओटी) सञ्चालनमा आएको छ ।
विशेष प्रविधिबाट निर्माण गरिएको सो ओटी हिजो शुक्रबारदेखि सञ्चालनमा आएको हो ।
अत्याधुनिक मोडुलर अप्रेशन थिएटर सञ्चालनमा आएसँगै अप्रेसन गर्नुपर्ने बिरामीले अब महिनै कुर्नु नपर्ने अस्पतालको विश्वास छ ।
अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले यसअघि अप्रेसन गर्नुपर्ने बिरामीले लामो समयसम्म पालो कुर्नुपर्नेमा अबका दिनमा पालो कुर्ने समय छोटिने उनको दाबी छ ।
‘अप्रेसनका लागि कक्ष नै थोरै हुँदा बिरामीले लामो समयसम्म पालो कुर्नुपथ्र्यो । तर, अब एकैपटक ८ वटा मोडुलर अप्रेसन कक्षबाट सेवा सञ्चालन हुनेहुदा बिरामीले धेरै सहजता प्राप्त गर्नेछन्’, उनले भने ।
नेपाल सरकारको अनुदानमा करिब १५ करोड रूपैयाँभन्दा बढीको लागतमा निर्माण गरिएको अत्याधुनिक शल्यक्रिया कक्ष अब नियमित रूपमा सञ्चालनमा आउने अस्पतालका डेपुटी डाइरेक्टर निर्मल लामिछानेले हाम्रो डक्टर न्युजलाई जानकारी दिए ।
नयाँ शल्यक्रिया कक्षमा अत्याधुनिक उपकरणसहितका सर्जरीका सामग्री उपलब्ध भएकोले सेवामा छिटो छरितो हुनुको सथै सेवा सञ्चालनमा समेत सहज हुने अस्पतालका एनेस्थेसियोलोजिष्ट डा.सुधीर श्रेष्ठको बताए ।
शल्यक्रिया कक्षको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले औपचारिक उद्दघाटन गरेकी हुन् ।