डोटीको दाडीमाटीमा स्वास्थ्य केन्द्र स्थापनापछि खुसियाली

डोटी, १२ पुष । डोटीको केआईसिंह गाउँपालिका– २ दाडीमाटी स्थित सामुदायिक स्वास्थ्य केन्द्र र तिखात्तर स्वास्थ्य चौकी भवन बनेपछि स्थानीय खुशी भएका छन् ।
गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले रिबन काटेर शुक्रबार स्वास्थ्य केन्द्र र भवनको उद्दाटन गरेका हुन् । छुट्टाछुट्टै रूपमा आयोजित उद्दाटन कार्यक्रममा अध्यक्ष शाहीले अब स्थानीयको स्वास्थ्य उपचारमा सहजता आउनेमा विश्वास रहेको बताए ।
गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा ध्यान दिएको बताउँदै अध्यक्ष शाहीले महिलाहरूको विभिन्न खाले स्वास्थ्य समस्यालाई ख्याल गर्न ठाउँठाउँमा आधारभुत स्वास्थ्य केन्द्र खोलीरहेको बताए ।
स्वास्थ्य केन्द्र खोलेपछि दाडीमाटी, नारीदांग, अमगाउ मौडाका बासिन्दामा खुसियाली छाएको छ । यसअघि सामान्य उपचारका लागि १ देखि ४ घण्टा समय लगाएर उपचारका लागि तिखातर पुग्नुपर्ने बाध्यता रहेको थियो ।
उद्दाटन गरिएको सामुदायिक स्वास्थ केन्द्रबाट प्राथमिक उपचारका साथै प्रसुति सेवा पनि दिईने केआईसिंह गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख तिल बहादुर बोहराले बताए ।