अल्ट्रासाउण्ड खरिद प्रक्रिया विवादकाबीच मुख्यमन्त्रीमार्फत हस्तान्तरण गर्ने निर्देशनालयको तयारी



Download our app to get more features

धनगढी, १२ पुष । ८८ वटा अल्ट्रासाउण्ड मेसिन खरिद प्रक्रिया विवादित बनेपनि सुदूरपश्चिमको स्वास्थ्य निर्देशनालयले हस्तान्तरणको तयारी थालेको छ ।

स्वास्थ्य निर्देशनालयले पुस १५ गते ८८ वटै मेसिन हस्तान्तरण गर्ने कार्यक्रम तय गरेको हो । सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालयले मुख्यमन्त्री त्रिलोचन भट्ट मार्फत ८८ वटा पालिकाहरुका लागि खरिद गरिएको अल्ट्रासाउण्ड मेसिन ९ वटै जिल्ला सदरमुकाममा रहेका स्थानीय तहलाई हस्तान्तरण गर्ने जनाएको छ ।

कैलालीको धनगढी उप–महानगरपालिका, कञ्चनपुरको भीमदत्त नगरपालिका, डोटीको दीपायल सिलगढी नगरपालिका, अछामको मंगलसेन नगरपालिका, बाजुराको बडिमालिका नगरपालिका, बझाङको जयपृथ्वी नगरपालिका, डडेल्धुराको अमरगढी नगरपालिका, बैतडीको दशरथचन्द नगरपालिका र दार्चुलाको महाकाली नगरपालिकालाई मेसिन हस्तान्तरण कार्यक्रममा सहभागी हुन स्वास्थ्य निर्देशनालयले पत्र समेत पठाईसकेको छ । स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले खरिद गरिएका उपकरण हस्तान्तरणको तयारी भएको बताए । मापदण्ड अनुसार नै खरिद प्रक्रिया अगाडी बढेकोले कुनै समस्या नरहेको उनको दावी छ । 

तर खरिद प्रक्रियामा प्रश्न उठाउँदै कात्तिक २७ गते अख्तियार र कात्तिक २६ गते मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा उजुरी परेपनि सुनुवाई भएको छैन् । अख्तियारले उजुरीमाथि अनुसन्धान जारी रहेको जनाएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले खरिद प्रक्रियाबारे अनुसन्धान गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएपनि अहिलेसम्म सोमाथि अनुसन्धान नै नभएको देखिएको छ ।

यद्यपी सामाजिक विकास मन्त्रालयले स्वास्थ्य निर्देशनालयलाई खरिद प्रक्रियामा देखिएको विवादबारे स्पष्टीकरण मागेको दावी गरेको छ । उजुरीमा प्रदेश स्वास्थ्य निर्देशनालयले बनाएको खरिद समितिमा सम्बन्धित फाँटको कर्मचारी नराखेको, खरिद समितिले वार्षीक कार्यक्रम र बजेट हेरी खरिद गुरुयोजना बनाउनुपर्नेमा सो समेत नगरी सोझै अल्ट्रासाउण्ड मेसिन खरिद गर्ने निर्णय गरेकोले छानबिन गरी कार्वाहीको दायरामा ल्याएर सरकारी सम्पति तथा रकमको दुरुपयोग रोक्न समेत माग गरिएको थियो ।

अल्ट्रासाउण्ड मेसिन खरीदको मुद्दा प्रदेश सभाको सार्वजनिक लेखा समितिमा पनि पुगेको थियो। लेखा समितिले तत्कालका लागि हस्तान्तरणको प्रक्रिया रोक्न आदेश दिएपनि हस्तान्तरणको तयारी भएको हो । लेखा समितिकी सभापति प्रदेश सभा सदस्य नन्दा बमले खरिद प्रक्रियाका कागजात नियन्त्रणमा लिएको बताउँदै छानविन जारी रहेको बताईन् । उनले मेसिन हस्तान्तरण भएपनि खरिद प्रक्रियामा भएको अनियमितता बारे अनुसन्धान जारी रहने बताईन् । 

प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वास्थ्य निर्देशनालयले ८८ वटा अल्ट्रासाउण्ड मेसिन खरिदका लागि टेण्डर गरेकोमा मिलोमतोमा टेण्डर स्वीकृत गरेको आरोप लाग्दै आएको छ । आपुर्तीकर्ता र स्वास्थ्य निर्देशनालयको मिलोमतोमा महंगो मूल्यमा अल्ट्रासाउण्ड उपकरण खरिद गरिएपछि करोडौ अनियमितता भएको आरोप लाग्दै आएको छ ।

झण्डै १२ करोडमा ८८ वटा अल्ट्रासाउण्ड उपकरण खरिद भएकोमा प्रदेशको स्वास्थ्य निर्देशनालयले उपकरण खरिद भईसकेपछि थप डेढ करोड भ्याट रकम माग गरेको थियो । भ्याट रकम थपिदिन सामाजिक विकास मन्त्रालयमार्फत् मन्त्रिपरिषद्लाई गरेको मागअनुसार मन्त्रिपरिषद्ले समेत निर्णय गरिदिएको थियो । कात्तिक २० को मन्त्रिपरिषद्को बैठकले सामाजिक विकास मन्त्रालयको सो प्रस्ताव पारित गरी रकम दिने बाटो खोलिदिएको थियो ।

Last modified on 2019-12-30 12:25:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts