आँखा दानको प्रण गर्ने ७५ हजार पुगे



Download our app to get more features

काठमाडौं, १० पुस ।  नेपाल आँखा बैंकमा हालसम्म ७५ हजार भन्दा बढी दाताले मृत्यु पर्यन्त आँखाको नानी दान गर्ने प्रण गरिसकेका छन् । बैंकमा अनुसार १५ हजार जनाले आँखाको नानी प्राप्त गरि पुनः दृष्टि प्राप्त गरिसकेका छन् भने यो क्रम निरन्तर चलिरहेको छ । आँखा दानको प्रण गर्नेहरु पछिल्लो समयमा दोब्बरले बढेको बैंकले जनाएको छ ।  

आँखाको नानीमा संक्रमण भएर, चोट लागेर, जन्मजात फुलो परेर समयमै उपचार नपाउँदा, घरेलु तथा अन्य परम्परागत उपचारमा भर पर्दा आँखाको नानी बिग्रने सम्भावना हुन्छ । नेपालमा दृष्टिविहिन हुनुको दोस्रो प्रमुख कारण आँखाको नानी बिग्रिएर हो । जसको एक मात्र उपचार आँखाको नानी प्रत्यारोपण हो । 

हरेक व्यक्तिले मृत्यु पश्चात आँखा दान गरिदिने हो भने दुई भन्दा बढी दृष्टिविहिनले यो संसार पुनः देख्न पाउँछन् । त्यस्ता व्यक्तिका लागि नेपाल आँखा बैंकले सुरु गरेको आँखाको नानी संकलन र प्रत्यारोपण सेवा वरदान सावित भएको बैंकको दावी छ । सन् १९९४ को १६ सेप्टेम्बरमा नेपाल आँखा बंैकको स्थापना भएपछि नेपालमा यो सेवा सहज भएको हो । 

आँखा बैंकले मृत्यु पश्चात आँखाको नानी दान गर्ने दाताबाट नानी संकलन, परीक्षण र सञ्चय लगायत आवश्यक परेकाहरुलाई नानी  उपलब्ध गराउने गर्छ । सुरुवातको अवस्थामा बंैकले पशुपतिनाथ मन्दिरको आर्यघाट लगायत स्थानमा गएर आँखा दान बारे जनचेतना जगाउथ्यो । तर अहिले यीसँगै आर्यघाट विद्युतीय शवदाह गृह लगायत काठमाडौंमा रहेका चार ठूला अस्पताल वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, गंगालाल मुटु अस्पताल र पाटन अस्पतालमा आँखा बंैकबाट खटाइएका परामर्शदाताले परामर्श तथा जानकारी दिने गर्छन् । जसको माध्यमबाट आँखा दान गर्नेको संख्या बढ्दो क्रममा छ । 
यस्तै स्थानीय आँखा अस्पतालहरुको समन्वयमा मेची, विराटनगर, लाहान, हेटौडा, भरतपुर, लुम्बिनी, पोखरा र कैलालीमा पनि क्षेत्रीय आँखा नानी संकलन केन्द्र स्थापना भई नानीहरु संकलन गरिरहेको छ । 

१२ पुसमा सामुहिक श्रद्धाञ्जली सभा 
नेपाल आँखा बैंकले हरेक वर्ष मरणोपरान्त आँखाको नानी दान गरि अमरत्व प्राप्त गर्ने श्रद्धेय महानुभावहरुको सम्झना र सम्मानमा सामुहिक श्रद्धाञ्जली–सभा आयोजना गर्दै आएको छ । यही परम्परालाई निरन्तरता दिंदै यस वर्ष पनि यही १२ पुस शनिवार सभाको आयोजना गरिने आँखा बैंकले जनाएको छ । 

तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङ्ग भन्छिन्, ‘धेरैभन्दा धेरै मानिसलाई मृत्युपछि आँखाको नानी दान गर्न प्रेरित गर्न र गराउन, दाताको परिवारलाई कृतज्ञता प्रदान गर्न, आँखाको नानी पाएका व्यक्तिहरुको अनुभव आदानप्रदान गर्न र दिवंगत आत्माको चीर शान्तिको लागि सामूहिक श्रद्धाञ्जली अर्पण गर्ने गरेका छौं ।’

आँखा बैंकका व्यवस्थापक शंखनारायण त्वायनाका अनुसार मानिसको मृत्युपश्चात जसरी धार्मिक रितीरिवाज अनुसार संस्कार गरिन्छ त्यसरी नै आँखादानलाई पनि संस्कारको रुपमा स्थापित गर्ने प्रयासमा छौ । यसो गर्नसके दृष्टिविहिनलाई पुनः दृष्टि प्रदान गर्न अझै सफल हुनेछौं । 

आँखा बैंक स्थापनको सुरुवाती चरणमा आँखाको नानी विदेशबाट झिकाइन्थ्यो । हाल आँखाको नानी देशभित्र बाटै संकलन गरि स्वदेशका अन्य अस्पतालमा समेत प्रत्यारोपण सुविधा उपल्ब्ध छ । 


 

Last modified on 2020-01-13 12:11:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts