स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत क्षयकुष्ट सहायक महतोसहित तीनविरुद्ध भष्ट्राचार मुद्दा
काठमाडौं, ९ पुस । अख्तियार दुरुपयोग अनुशन्धान आयोगले स्वास्थ्य कार्यालय म्याग्दीका क्षयकुष्ठ सहायक (पाँर्चौै) तहमा कार्यरत मनीषकुमार महतोसहित तीन जनाविरुद्ध भष्ट्राचार मुद्दामा आरोप पत्र दायर गरेको छ । महतोले स्वास्थ्य कार्यालय म्याग्दीबाट कार्यादेश लिई बिभिन्न कार्यक्रम सञ्चालन गरी पेश्की फछ्यौट गर्ने क्रममा नक्कली विल भरपाई पेश गरी पेश्की फछ्यौट गर्न दबाब दिएकोलगायत आयोगको आरोप छ ।
यस्तै महतोले सञ्चालन गरेका कार्यक्रमहरू कार्यादेश अनुसार सञ्चालन नभएको तथा असम्बन्धित व्यक्तिहरूलाई दैनिक भ्रमण भत्ता वितरण गरी गैरकानूनी लाभ लिई सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको खुलेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । महतोले बिभिन्न मितिमा स्वास्थ्य कार्यालयबाट कार्यादेश लिई क्षयरोगसम्बन्धी अभिमुखिकरण, घरदैलो, माइक्रोस्कोपिक क्याम्प, डिएमटी, टिओओएल र डब्लुएचओ एमइसीको माध्यमबाट परिवार नियोजन सेवा सुदृढीकरण कार्यक्रम तथा उपचार केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई टिबी मोडुलर तालिम सञ्चालन गर्न रकम विनियोजन भएकोमा बिभिन्न शिर्षकमा बैंक दाखिला गरी बाँकी रकम हिनामिना गरी नेपाल सरकारको सम्पत्ति हानिनोक्सानी गरेको आयोगको आरोप छ । सोही कारण उनलाई भ्रष्टाचार निवारण ऐन, ०५९ को दफा १७ बमोजिम हिनामिना गरेको चार लाख ८१ हजार नौ सय ९५ रुपैयाँ कायम गरी कानुन अनुसार कारबाहीको माग गरेको छ ।
साथै स्वास्थ्य कार्यालय म्याग्दीका तत्कालीन कार्यालय प्रमुख भीमप्रसाद आचार्य र आर्थिक सल्लाहकार लेखापाल हरिशंकर शर्माले पनि सोही शिर्षकमा परिवार नियोजन सेवा सुदृढीकरण कार्यक्रम र उपचार केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई टिबी मोडुलर तालिम सञ्चालनमा एक लाख अठहत्तर हजार चार सय छयासी हिनामिना गरेको आरोप आयोगको छ ।