सेती प्रादेशिक अस्पतालाई शिक्षण अस्पतालको रुपमा विकास गरिने

धनगढी, ७ पुस । कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक असपताललाई शिक्षण अस्पतालको रुपमा विकास गरिने भएको छ ।
नाम मात्रैको प्रादेशिक अस्पताल घोषण गरिएको सेती अस्पताललाई शिक्षण अस्पतालका रुपमा विकास गरिने अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त जोशीले बताए ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले अस्पतालकोे ‘ड्रिम प्रोजेक्ट’ को रुपमा सेती अस्पतालाई शिक्षण अस्पतालको रुपमा विकास गरिने बताए । शिक्षण अस्पताल सञ्चालनको लागि पोखरा विश्वविद्यालयसँग समन्वय भईरहेको उनले बताए ।
शिक्षण अस्पताल सञ्चालनको लागि अस्पतालमा तीन सय शय्या सञ्चालन गर्नु पर्ने प्रावधान रहेको छ । अहिले सेती अस्पतालमा ५० शय्या मात्रै सञ्चालनमा रहेको छ ।
अस्पताल व्यवस्थापन समितिले प्रदेश र संघीय सरकारले अस्पताललाई तीन सय शैयामा स्तरवृद्धि गरे आउँदो आर्थिक वर्षदेखि नै पाँच वटा विषय अध्यन गराउने गरि तयारी भईरहेको दावी गरेको छ ।
पत्रकार सम्मेलनमा अस्पतालमा भएका सुधारउन्मुख कार्यको समिक्षा समेत गरिएको थियो ।