चिकित्सक संघ चुनावः समावेशी पेशागत समुहको यस्तो छ घोषणापत्र
काठमाडौं, ६ पुस । नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिको चयनका लागि माघको पहिलो हप्ता चुनाव हुँदै छ । २८ औं केन्द्रीय कार्यसमितिको चुनावमा पेशागत समावेशी समुहबाट अध्यक्षका लागि डा. पुष्पमणी खरालले उम्मेदवारी दिएका छन् । समावेशी पेशागत समुहले आइतवार पत्रकार सम्मेलन गरी आफ्ना ८ बुँदे घोषणापत्र पनि सार्वजनिक गरेको छ ।
डा.खरालको नेतृत्वमा समावेशी पेशागत समुहले सुरक्षित पेशा, खुसी चिकित्सक भन्ने मूल मत्रका साथ चुनावी मैदानमा उत्रेको छ ।
चिकित्सकका हकहितका आफु सधैं तत्पर रहने भन्दै डा. खरालले आफ्नो समुहलाई निर्वाचनमा जिताउन आग्रह गरेका छन् । साथै उनले सक्रिय नेतृत्व गर्ने पूर्ण प्रतिवद्धता पनि व्यक्त गरेका छन् । सदस्यताको लागि आवेदन अनलाइन मार्फत गराउने साथै अनलाइन भोटिंङको व्यवस्था गराई सदस्यताको वृद्धि गराउने पनि पेशागत समावेशीको घोषणा पत्रमा उल्लेख छ ।
सुरक्षाको विषयलाई यस समुहले आफ्नो चुनावी घोषणा पत्रमा समावेश गरेको छ । यस अन्तर्गत भोलिन्टीयर(स्वयंसेवी) चिकित्सकको नाममा हुने श्रमशोषणको पूर्ण अन्त्य गर्दै लाइसेन्स प्राप्त चिकित्सकलाई भोल्युन्टियर गराउने कार्य गैरकानुनी हुने गरी व्यवस्था गर्ने र सोको कार्यान्वयन भएनभएको मोनिटरिंग पनि संघले गर्ने उल्लेख गरिएको छ ।
त्यस्तैगरी पेशागत समुहको घोषणा पत्रले स्पेसलाइजेसन, पेशागत अभिवृद्धि, चिकित्सक स्वास्थ्य एवम् गुणस्तरिय जीवन, सरकारी स्वास्थ्यसेवा प्रवाहमा सुधार लगायतका विविध पक्ष समेटेको छ । नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिका लागि अध्यक्षमा डा. पुष्पमणी खरेल, वरिष्ठ उपाध्यक्षमा डा.रक्षा श्रेष्ठ, उपाध्यक्षमा डा रन्जीत कुमार झाको उम्मेदवारी रहेको छ । त्यस्तै सदस्यहरुमा डा. दिपक प्रसाद कोइराला, डा जगदिसश चन्द्र विष्ट, डा. लिजन महर्जन, डा राकेश कुमार शाह, डा. सुमन काफ्ले र डा त्रिभुवन चन्द्र झा रहेका छन् । यता कोषाध्यक्षमा सन्जीत कुमार शाह छन् भने सह कोषाध्यक्षमा डा यदय नारायण सिंह रहेका छन् । त्यसैगरी महासचिवमा डा मधुर बस्नेत रहेका छन् भने सह सचिवमा डा शैलेन्द्र झा रहेका छन् ।
नेपाल चिकित्सक संघको चुनाव उपत्यका बाहिर ४ र ५ माघ र काठमाडौ उपत्यकामा १७ देखि २१ माघमा हुने भएको छ ।