नेपाल चिकित्सक संघ निर्वाचन

यस्तो छ लोकतान्त्रिक समूहको प्रतिबद्धता



Download our app to get more features

काठमाडौं, ६ पुस । नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिको चयनका लागि आगामी माघ पहिलो साता चुनाव हँुदैछ । २८औं केन्द्रीय कार्य समितिको चुनावमा लोकतान्त्रिक समूहबाट अध्यक्षका लागि डा. लोचन कार्कीले उम्मेदवारी दिएका छन् । उनले शुक्रबार पत्रकार सम्मेलन गरी पाँच बुँदे घोषणापत्र सार्वजनिक गरेका थिए । 
डा. कार्कीको नेतृत्वमा चुनावी मैदानमा रहेको लोकतान्त्रिक समूहले चिकित्सकको व्यावसायिक हितको रक्षा समुतिच वृत्तिविकास र पेसागत सुरक्षा भन्ने नाराका साथ चुनावी अभियान चलाइरहको छ । 

१. चिकित्सकहरूको पेसागत सुरक्षा र वृत्तिविकास 
चिकित्सक तथा स्वास्थ्यकर्मीको नियुक्ति, पारिश्रमिक तथा सुविधालाई समयानुकूल परिमार्जन गर्न पटकपटक गरेको आन्दोलन र पछिल्लो पटक १३ असोज ०७४ मा तत्कालीन प्रधानमन्त्रीज्यूको समुपस्थितिमा स्वास्थ्य मन्त्रालय र नेपाल चिकित्सक संघबीच भएको सम्झौताअनुसार बनेको कार्यदलले तयार गरेको प्रतिवेदन अक्षरश कायान्वयन गराउन निश्चित समयसीमा तोकी दबाब दिइनेछ ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन ०६६ र नियमावली ०६९ लाई परिमार्जन गरी चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई ‘विनाधरौटी हिरासत (जेल उथआउट बिल) को प्रावधानसहितको मन्त्रिपरिषद्मा विचाराधीन विद्येयक संशोधन गराउन दबाब सिर्जना गरिनेछ ।
मुलुकी अपराध (संहिता) ऐनको विवादास्पद इलाजसम्बन्धी दफा नेपाल चिकित्सक संघको आन्दोलनको परिणामस्वरूप संशोधन भई प्रमाणीकरण भइसकेको अवस्थामा उक्त प्रावधान अक्षरशः कार्यान्वयनका लागि निरन्तर पहल गरिनेछ ।
बिरामीहरूबाट उठाइने पाँच प्रतिशत अतिरिक्त स्वास्थ्य सेवा कर र चिकित्सक तथा स्वास्थ्यसंस्थाहरूले भ्याटमा दर्ता हुनुपर्ने नियम चिकित्सक संघकै पहलमा हटिसकेको छ । आगामी दिनमा चिकित्सकले तिर्नुपर्ने करलाई वैज्ञानिक र व्यावहारिक बनाउँदै प्रक्रियालाई सहज बनाउन पहल गरिनेछ ।
संघका सदस्यहरूका निम्ति वैज्ञानिक लेख तथा रचना प्रकाशन गर्नका लागि अन्तर्राष्ट्रिय मान्यताप्राप्त तालिमहरूको आयोजना, क्षमता वृद्धिविकासका विविध कार्यक्रम सञ्चालन गरिनेछ ।
चिकित्सक र बिरामीबीच विश्वासको वातावरण बढाउन मुलुुकी संहिता कार्यविधिमा भएको व्यवस्थाबमोजिम मेडिकल काउन्सिल, गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय, कानुन मन्त्रालय र उपभोक्ता रहेको समितिको प्रतिनिधि सम्मिलित गराई नेपाल चिकित्सक संघले ‘¥यापिड रेस्पोन्स टिम’ बनाउन र त्यसमार्फत कुनै पनि घटनाको तत्काल छानबिन गरी आवश्यक कारबाही गर्ने व्यवस्थाका लागि पहल गरिनेछ । देशको कुनै पनि अस्पतालमा कुनै अप्रिय घटना भएको जानकारी हुनासाथ तुरून्त सुरक्षा निकाय र सरकारी निकायसँग समन्वय गरी कार्यरत चिकित्सकलाई सहयोग गर्ने व्यवस्था मिलाइनेछ ।
नेपाल चिकित्सक संघको चिकित्सक कल्याण कोषलाई वृद्धि गरी संघमा आबद्ध चिकित्सकको दुर्घटना बीमासहित विविध कारणले हुने विपत्तिमा सार्थक सहयोगमा सदुपयोग गरिनेछ ।
चिकित्सकमाथि पारिश्रमिकका दृष्टिले विद्यमान शोषण र विभेद अन्त्यका लागि सरकारी स्वास्थ्यसंस्थामा कार्यरत चिकित्सकको सेवासुविधामा उल्लेख्य वृद्धि गर्न, निजी क्षेत्रमा कार्यरत चिकित्सकको न्यूनतम पारिश्रमिक तोक्न, ओपिडी र परामर्श शुल्कमा समयसापेक्ष परिमार्जन गर्न तथा अतिरिक्त समय काम गर्ने चिकित्सकका लागि अनिवार्य ओभरटाइम भत्ताको व्यवस्था गर्न ठोस पहलकदमी लिइनेछ ।
देशभित्र चिकित्सा पेसालाई आकर्षित गर्न, पेसामा रहिराख्ने वातावरण सिर्जना गर्न सरकारी सेवामा सुरू प्रवेश नवौँ तहबाट हुने व्यवस्था गर्न, सेवाकालीन अवसरहरू बढाउन, दुर्गममा सेवा गर्नेका लागि प्रोत्साहनका विकल्पको खोजी गर्न विशेष पहलकदमी अघि बढाइनेछ ।
चिकित्सा क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय संघसंस्थासँग समन्वय गरी चिकित्सकहरूलाई अन्तर्राष्ट्रियस्तरका तालिम, गोष्ठी, सेमिनार, अध्ययन तथा वृत्तिविकासका अवसर तथा अनुभव आदानप्रदानको वातावरण सिर्जना गरिनेछ ।
‘सही व्यक्ति सही ठाउँ’ भन्ने मान्यतासहित चिकित्सकको ज्ञान, सीप र दक्षताअनुसार काम गर्न सक्ने न्यूनतम पूर्वाधार भएको उपयुक्त ठाउँमा पदस्थापना गर्न र प्रेषण प्रणालीलाई व्यवस्थित गर्न पहल गरिनेछ ।
युवा चिकित्सकको सीप र ज्ञानलाई समयानुकूल सदुपयोग गर्न, क्षमता अभिवृद्धि गर्ने वातावरण निर्माण गर्न विशेष खालका कार्यक्रम र अवसर सिर्जना गरिनेछ ।

२. गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवा 
एमबिबिएस अध्ययनलाई सहज, सुलभ र गुणस्तरीय बनाउन तथा स्नातकोत्तर तह अध्ययनका अवसरहरूमा वृद्धि गर्दै लैजान आवश्यक पहलकदमी लिइनेछ ।
सरकार र चिकित्सक संघबीच चिकित्सा शिक्षाका सन्दर्भमा विगतमा पटकपटक भएका सम्झौताहरूको अक्षरश कार्यान्वयन गराउन पहल गरिनेछ ।
चिकित्सा शिक्षाका विद्यार्थीका जायज मागको सम्बोधन गर्दै मेडिकल कलेजहरूमा शान्तिपूर्ण वातावरणमा अध्ययन–अध्यापन हुने तथा विनाअवरोध स्वास्थ्य सेवा सञ्चालन हुने वातावरण सिर्जना गर्न नेतृत्वदायी भूमिका निर्वाह गरिनेछ ।
गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितताका लागि सर्वस्वीकार्य उपचार संहिता निर्माण गराई लागू गर्न पहल गरिनेछ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरूप स्वास्थ्य क्षेत्रमा कुल बजेटको कम्तीमा १० प्रतिशत रकम विनियोजन गर्न पहल गरिनेछ ।
‘जनतासँग चिकित्सक’ भन्ने मान्यातालाई आत्मसात गर्दै चिकित्सक संघको पहलमा स्थानीय र प्रदेश सरकारसँगको समन्वयमा स्वास्थ्यसँग सम्बन्धित विविध कार्यक्रम सञ्चालन गरिनेछ ।
चिकित्सकहरूको क्षमता अभिवृद्धि, व्यावसायिक दक्षता तथा वैज्ञानिक ज्ञानको पुनर्ताजगी गर्न नेपाल मेडिकल काउन्सिल लगायतका सरोकारवाला निकायसँग समन्वय गरिनेछ ।
युवा चिकित्सक र सिनियर चिकित्सकबीच ज्ञानको आदानप्रदान एवं सिनियर चिकित्सकको अनुभवलाई युवामा हस्तान्तरण गर्ने उद्देश्यले हाम्रो पहलमा गठन भएको जुनियर डाक्टर कमिटीले अन्तर्राष्ट्रिय मान्यता पाइसकेको छ । नयाँ चिकित्सकलाई त्यसप्रति प्रोत्साहन गर्दै जेडिसलाई संघको विधानबाटै स्वायत्तता प्रदान गरी अझै प्रभावकारी र क्रियाशील बनाइनेछ । युवा चिकित्सकको ज्ञान र ऊर्जालाई चिकित्सा क्षेत्रको विकासमा सदुपयोग गर्न, युवा चिकित्सकले भोगेका समस्या समाधानका लागि पहलकदमी गर्न तथा अनुभवप्राप्त सिनियर चिकित्सकको अनुभव र ज्ञानलाई युवामा हस्तान्तरण र आदानप्रदान गर्ने वातावरण निर्माण गर्दै चिकित्सा क्षेत्रमा पुस्तान्तर कम गर्न जुनियर डाक्टर कमिटीमार्फत शैक्षिक तालिम, सेमिनार, अन्तरक्रियाजस्ता विविध कार्यक्रम सञ्चालन गरिनेछ ।

३. राष्ट्रिय नीति, योजना निर्माणमा योगदान र अन्तर्राष्ट्रिय सम्बन्ध 
३५ हजारभन्दा बढी प्राविधिक जनशक्ति भएको स्वास्थ्य सेवाको संवेदनशीलता र विशिष्टीकृत अवस्थालाई ध्यान दिँदै स्वास्थ्य सेवा ऐनलाई संविधानको मर्मअनुरूप थप फराकिलो बनाउनुपर्नेमा स्वास्थ्य सेवालाई निजामती सेवा ऐनको अंगमा सीमित गर्ने गरी प्रस्तावित निजामती सेवा ऐनले स्वास्थ्य क्षेत्रको समस्या र संवेदनशीलतालाई सम्बोधन र व्यवस्थापन गर्न सक्दैन । अत स्वास्थ्य सेवासम्बन्धी छुट्टै ऐन तर्जुमा गर्न र स्वास्थ्यकर्मीबाटै स्वास्थ्य सचिव हुने व्यवस्था सुनिश्चित गर्न निरन्तर अभियान र दबाब सिर्जना गरिनेछ ।
नेपाल चिकित्सक संघले नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका सन्दर्भमा यस क्षेत्रका विज्ञहरू, सरोकारवाला निकायहरू, नीतिनिर्माताहरू, जनस्वास्थ्यविज्ञहरू, स्वास्थ्यकर्मी तथा नर्सिङलगायत प्रतिनिधिहरूसँग प्राज्ञिक बहस गरी ‘भिजन २०२०’ तय गरी त्यसलाई कार्यान्वयन गर्न पहल गरिनेछ ।
नेपाल चिकित्सक संघलाई नीतिगत तहमा ‘थिंक ट्यांकका रूपमा विकास गर्दै राज्यले स्वास्थ्यसँग सम्बन्धित नीति निर्माण गर्दा चिकित्सक संघको सार्थक प्रतिनिधित्वको सुनिश्चितता गरिनेछ ।
चिकित्सक संघ र अन्तर्राष्ट्रियस्तरका चिकित्सक संस्थाहरू सार्क चिकित्सक संघ, विश्व चिकित्सक संघ, सिएमएएओलगायतसँग सम्बन्ध स्थापित भइसकेको अवस्थामा आगामी दिनमा अन्य अन्तर्राष्ट्रिय संस्थासँग पनि सम्बन्ध विस्तार गरी विषयगत र संस्थागत अनुभव र अवसरको आदानप्रदान गरिनेछ ।

४. सरकारी–निजी साझेदारिता
मेडिकल कलेजले स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै राज्य र निजी क्षेत्रबीचको दूरी न्यून गरी चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सन्दर्भमा मेडिकल कलेजसँग जोडिएका समस्याको दीगो समाधान गर्न नेपाल चिकित्सक संघले सहजीकरण र समन्वय गर्नेछ ।
निजी क्षेत्रका अस्पतालहरूका समस्या समाधान गर्न छाता संगठन एफिनसँग समन्वय गरी समाधानका लागि पहल गरिनेछ ।
संविधानले परिकल्पना गरेअनुसार गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूतिका लागि ‘साझेदारीमा स्वास्थ्य सेवा’ भन्ने मान्यताअनुसार दुर्गम क्षेत्रसम्म चिकित्सकीय सेवा पु¥याउन मेडिकल कलेज, अस्पताल र सरकारसँगको साझेदारी कार्यक्रम सञ्चालन गर्ने अवधारणालाई मूर्तरूप दिन आवश्यक पहल गरिनेछ ।

५. संघको संस्थागत विकास र सांगठनिक पुनःसंरचना 
संघीय संरचनाअनुसार संघको हालको संरचनालाई पुनःसंरचित गरी प्रदेशमा प्रादेशिक शाखा र आवश्यकताअनुसार केन्द्रीय तथा अन्य अस्पताल, प्रतिष्ठान, मेडिकल कलेजहरूमा शाखा स्थापना गरिनेछ ।
संघको सन् १९६३ देखि प्रकाशित अनुसन्धान जर्नल जेएनएमए अन्तर्गत सयभन्दा बढी अनुसन्धान तालिम सम्पन्न गरिएको अवस्थामा केन्द्रमा सुविधासम्पन्न ‘अध्ययन केन्द्र’ बनाइनेछ । शाखाहरूमा आवाश्यक पूर्वाधार थप गरी सुविधासम्पन्न डिजिटल स्रोत केन्द्र ई–पुस्तकालय स्थापना गरिनेछ ।
सबै तहका सरकार र निजी क्षेत्रसँगसमेत सहकार्य गरी दुर्गम क्षेत्रमा कार्यरत चिकित्सकलाई नियमित अध्ययन सामग्रीको पहुँच बढाउन ई–पुस्तकालयको अवधारणालाई कार्यान्वयन गरिनेछ ।
कार्यक्षेत्रका चिकित्सकका लागि छुट्टै अध्ययन कक्ष स्थापनाका लागि पहल गरिनेछ ।
नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालय रहेको नयाँ भवनमा अत्याधुनिक सेमिनार हल, एउटै छाताभित्र हाल २२ वटा विशेषज्ञ संस्थाको कार्यालय राख्न कोठा उपलब्ध गराइसकेको सन्दर्भमा बाँकी विधागत संस्थालाई पनि छुट्टाछुट्टै कोठा उपलब्ध गराइनेछ ।
संघमा रहेको गेस्टहाउसलाई थप मर्मत–सम्भार गर्दै पुरानो भवनमा उच्चस्तरीय सेवासहितको गेस्टहाउस थप गिरनेछ ।
अनलाइनमार्फत नै संघको सदस्यता भर्न सकिने व्यवस्था गरिनेछ ।
चिकित्सा क्षेत्रको इतिहास, गौरव र योगदानलाई एकै थलोमा स्मरण गर्न र नियाल्न सकिने गरी संघ अन्तर्गत मेडिकल म्युजियम स्थापनाका लागि पहल गरिनेछ ।
चिकित्साजस्तो विशिष्ट र प्राविधिक विषयमा रिपोर्टिङ गर्ने पत्रकारका ज्ञानको दायरालाई अझै फराकिलो बनाएर नेपालमा मेडिकल जर्नालिज्मको विकासमा ठोस पहल गर्ने उद्देश्यले विशेषखालको कार्यक्रम तय गरेर लागू गर्न र चिकित्सा सेवाप्रतिको नागरिकको भरोसा बढाउन ठोस पहल गरिनेछ ।
गुणस्तरीय स्वास्थ्य सेवा चिकित्सकको सुरक्षा, सुविधा र पूर्वाधारसँग जोडिएको छ । असुरक्षा र अभावमा संघर्ष गरेको चिकित्सकले सहज रूपमा सेवा प्रदान गर्न सक्दैन भन्ने कुरामा हामी स्पष्ट छौँ । स्वस्थ नागरिक समृद्ध समाज नै हाम्रो सपना हो । गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो संकल्प हो । बिरामीको खुसी हाम्रो सन्तुष्टि हो । यसका लागि विना डर त्रास सुरक्षित वातावरणमा सेवा गर्न पाउनु हाम्रो अधिकार हो । यी तथ्यलाई हामीले सदैव हृदयंङ्गम गरेका छौँ । चिकित्सकको पेसागत मर्मबाट विचलित नभईकन व्यावसायिक हकहित र सुरक्षासँगसँगै संविधानले परिकल्पना गरेको गुणस्तरीय स्वास्थ्य सेवा देशभित्रै उपलब्ध गराउन हामी अनवरत क्रियाशील छौँ र रहनेछौँ । 
 

Last modified on 2019-12-24 11:44:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts