विपन्न नागरिक औषधोपचार कोष अन्तर्गत कुन अस्पतालबाट कतिले पाए उपचार (सुचीसहित)
कसरी लिने सहुलियत रकम ?

काठमाडौं, ३ पुस । सरकारले विपन्न नागरिक औषधोपचार कोष अन्तर्गत औषधि उपचार सेवा दिएका विभिन्न अस्पताललाई साउन भदौ र असोज कात्तिकको रकम भुक्तानी दिने निर्णय गरेको छ । गत १३ मंसिरमा बसेको स्वास्थ्य सचिवस्तरीय बैठकले सो निर्णय गरेको हो ।
विपन्न नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधि ०७२ को प्रथम संसोधन गर्दै सरकारले यस्तो सहायता कोषमार्फत औषधि उपचार बापत आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ । विपन्न नागरिक औषधोपचार व्यवस्थापन समितिको बैठकले विपन्न नागरिक औषधि उपचारका लागि तोकिएका सरकारी र गैरसरकारी १५ वटा अस्पताललाई आव ०७६/७७ को साउन र भदौ महिनाको शोधभर्ना रकम भुक्तानी गर्ने निर्णय गरेको हो । सरकारले शोधभर्ना दिन बाँकी १५ वटा अस्पताललाई ७ करोड ८० लाख ५९ हजार ८ सय ८२ भुक्तानी दिने निर्णय गरेको हो ।
पाटन अस्पतालबाट एक महिनामै ३६० को सहुलियतमा उपचार
सरकारले सहुलियतमा उपचारका लागि तोकेको अस्पताल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि हो । यस अस्पतालले चालु आर्थिक वर्षको साउन महिनामा कोषमार्फत ३ सय ६० जनालाई सेवा प्रवाह गरेको थियो । यसमा सबै भन्दा बढी क्यान्सरका बिरामी २ सय ६ जना थिए । यस्तै हेमोडायलाईसिसका ७८, औषधि सेवन ४९, मुटुका बिरामी १३, स्पाइनल इन्जुरीका ४, अल्जाइमर्सका ९ र सबैभन्दा कम पार्किन्सन्सका एक जना बिरामीले सेवा लिएका थिए ।
भदौ महिनामा भने यस अस्पतालबाट विपन्न नागरिक औषधोपचार कोषबाट सेवा लिनेको संख्या केही घटेको देखिएको छ । भदौ महिनामा जम्मा ३ सय ३५ जानले सेवा पाएका छन् । जसमा सबैभन्दा बढी क्यान्सरका बिरामी १ सय ८८ रहेका छन् भने सबैभन्दा कम पार्किन्सन्स र अल्जाइमर्सका बिरामी २ र २ जना छन् । यस बापत अस्पतालले ९२ लाख ४३ हजार ६ सय ३९ रकम भुक्तानी पाउने भएको छ ।
धुलिखेल अस्पताल
काभ्रेको धुलिखेल अस्पतालले साउन भदौमा ६६ जनाको विपन्न नागरिक औषधोपचार कोषमार्फत सेवा दिएको थियो । यस अस्पतालमा पनि सबै भन्दा बढी क्यान्सरका बिरामीले सेवा लिएका छन् । अस्पतालले यस बापत १७ लाख ६९ हजार ८ सय २ भुक्तानी पाउने भएको छ ।
यस्तैगरी साउन र भदौ महिनामा नागरिकलाई सहुलियतमा उपचार सेवा उपलव्ध गराउने अन्य अस्पतालहरु निम्न छन् ।
सेती प्रादेशिक अस्पताल
निजामति कर्मचारी अस्पताल ।
बयोधा अस्पताल ।
शहिद धर्मभक्त राष्टिय प्रत्यारोपण केन्द्र ।
चरक मेमोरियल अस्पताल ।
सुमेरु अस्पताल ।
हिमाल अस्पताल ।
पूर्णटुंग बिर्तासिटी अस्पताल एण्ड रिसर्च सेन्टर ।
जानकी हेल्थ केयर ।
ओम साई पाथिभरा अस्पताल ।
ब्लु क्रस अस्पताल ।
गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ।
भक्तपुर क्यान्सर अस्पताल ।
५६ अस्पतालकालाई २२ करोड
बैठकले असोज कातिकमा बिरामीलाई सहुलियतमा सेवा प्रवाह गरेका ५६ वटा अस्पतालाई भुक्तानी दिने निर्णय गरेको छ । यो दुई महिनामा ५६ अस्पताललाई जम्मा २२ करोड ८२ लाख ५३ हजार ४७ शोधभर्ना दिने निर्णय गरेको छ ।
कुन अस्पताललाई कति भुक्तानी, कतिले पाए सेवा ?
वीर अस्पताल
असोज महिनामा वीर अस्पतालबाट सात प्रकारका रोगको उपचारमा नागरिकले सहुलियत पाएका छन् । वीर अस्पतालबाट असोज महिनाभरी २ सय ८५ जान बिरामीले विपन्न नागरिक उपचार कोषमार्फत सेवा पाएका छन् । जसमा सबैभन्दा बढी क्यान्सरका १ सय ८० जना छन् । यसैगरी हेमोडाइलासिस ७१, औषधि सेवन २९, मिर्गौला प्रत्यारोपण एक, हेड इन्जुरी र पार्किन्सन्सका १–१ जना बिरामीले सेवा लिएका छन् ।
नागरिकलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध गराए बापत विपन्न नागरिक कोषबाट यस अस्पतालले असोज महिनाको ४२ लाख ८ सय ८६ रकम शोधभर्ना पाउने भएको छ । यस्तै कात्तिक महिनाको शोधभर्ना रकम भने ४८ लाख ३१ हजार ३ सय २१ पाउने छ । कात्तिक महिनामा अस्पतालले २ सय ९८ जान नागरिकलाई सहुलियत गराएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज
यस अस्पतालले असोज–कार्तिक महिनामा नागरिकलाई सहुलियत उपचार सेवा दिए बापत १ करोड १४ लाख १६ हजार ३ सय ९१ रकम शोधभर्ना पाउने भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पनि असोज र कात्तिक महिनामा सरकारबाट ८८ लाख २५ हजार ४ सय ५६ रुपैयाँ शोधभर्ना पाउने भएको छ ।
कुन अस्पतालले कति भुक्तानी पाउने सूची
कोषबाट सेवा कसरी लिने ?
विपन्न नागरिकलाई मुटुरोग, मिर्गाैला रोग, क्यान्सर, पार्किन्सस, अल्जाईमस, स्पाईनल ईन्जुरी, हेड ईन्जुरी र सिकलसेल एनिमिया रोगका लागि नेपाल वा विदेशमा गई उपचार गराउँदा बढीमा एक लाख रुपैयाँसम्म औषधि उपचार खर्च प्रदान गरिन्छ । यसअघि यसै प्रयोजनको उपचार सेवा प्राप्त गरिसकेका तर सो औषधोपचार बापतको आर्थिक सहायता प्राप्त गर्न नसकेको हकमा आवश्यक कागजात पेश गरेको अवस्थामा समितिको निर्णय बमोजिम एक लाखसम्म औषधि उपचार बापत आर्थिक सहायता प्रदान गरिन्छ ।
- स्वदेशमा मिर्गाैला प्रत्यारोपण गर्ने भएमा अस्पतालमार्फत २ लाख छुट दिने व्यवस्था छ ।
- हेमोडायलाइसिस २०८ सेसन निःशुल्क हुनेछ ।
- पेरिटोनियल डायलाइसिस २ वर्षसम्म निःशुल्क गर्नेछ ।
- मेडिकल बोर्डको सिफारिसमा विदेशमा गई मिर्गाैला प्रत्यारोपण गरेमा दुई लाख र प्रत्यारोपण पश्चात औषधि सेवनका लागि एक लाख सम्बन्धित बिरामीबाट बिल भरपाई लिई नगद उपलब्ध गराउने ।
- यस्तै मुटु, क्यान्सर, हेड इन्जुरी, सिललसेल एनिमिया रोगका लागि स्वदेशमा उपचार भएमा अस्पतालमार्फत एक लाख बराबरको औषधि उपचार सेवा निःशुक हुने र विदेशमा उपचार गर्नुपरे एक लाख उपचार पश्चात सम्बन्धित बिरामीलाई बिल भरपाई लिई नगद भुक्तानी दिनेछ । तर विदेशमा गई उपचार गर्नु परेमा मेडिकल बोर्डका सिफारिस अनिवार्य हुनुपर्ने छ ।
- अल्जाइमर्सर पार्किन्ससको बिरामीहरुको उपचारका ल ागी बिल भरपाई लिई एक लाखसम्म नगद भुक्तानी दिने व्यवस्था छ ।
कसरी लिने सहुलियत रकम
- स्थानीय तह, नगरपालिका, वडा वा गाविसबाट आर्थिक अवस्था कमजोर भएको विपन्नताको सिफारिस ।
- चिकित्सकको प्रिस्क्रिप्सन ।
- नागरिकताको प्रतिलिपी वा नाबालकको हकमा जन्मदर्ताको प्रतिलिपी ।
- माथिका कागजातहरूसहित निवेदन लेखि जिल्ला जनस्वास्थ्य कार्यालयमा पेश गर्ने र त्यहाँबाट जिल्लास्तरीय सिफारिस समितिको निर्णयको प्रतिलिपीसहित सूचिकृत अस्पतालमा उपचार सहुलियतका लागि सिफारिस लिने र सो सिफारिस लगेर आफुले उपचार गर्ने अस्पतालमा सहुलियतका लागि सम्पर्क गर्ने ।
कोषबाट सहायता उपलब्ध हुने रोगहरु
मुटुरोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सस, अल्जाईमर्स, स्पाईनल ईन्जुरी, हेड ईन्जुरी र सिकलसेल एनिमिया जस्ता रोगका लागी नेपाल वा विदेशमा उपचार गराउँदा सहयोग पाइनेछ ।