८ प्रतिशत महिलाले मात्र गराउँछन् पाठेघरको मुखको क्यान्सरको परीक्षण, किन हुन्छ पाठेघरको मुखको क्यान्सर ?

काठमाडौं, २ पुस । समयमा परीक्षण गर्न सके पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ । पाठेघरको मुखमा हुनसक्ने क्यान्सरका बारे जनचेतनाको अभावमा वर्षेनी धेरै महिलाको यो रोगबाट मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार सन् २०१८ मा विश्वमा पाँच लाख ७० हजार महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु भएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको स्टेप्स सर्बे अनुसार पाठेघरको मुखको क्यान्सरको परीक्षण गराउने महिला ८.२ प्रतिशत मात्र रहेका छन् । त्यस्तैगरी विगत ५ वर्ष भित्र पाठेघरको मुखको क्यान्सरको परीक्षण गराउने महिला ५.९ प्रतिशत रहेको पाइएको छ । पाठेघरको मुखको परीक्षण पछि आएको नतिजाका कारण स्वास्थ्य उपचार लिएका महिलाको प्रतिशत ६३.५ मात्र रहेको सर्वेले देखाएको छ । यो सर्वे १५देखि ६९ वर्षका महिलाहरुमा गरिएको हो ।
प्रादेशिक अवस्था
परिषद्ले पाठेघरको मुखको परीक्षण गराउने महिलाहरुको कुन प्रदेशमा कति छन् भनेरसमेत सर्वे गरेको छ । जस अनुसार पाठेघरको मुखको क्यान्सरको परीक्षण गराउने महिला सबैभन्दा बढि कर्णाली प्रदेशमा १५.८ प्रतिशत रहेका छन् । त्यस्तै सबैभन्दा कम प्रदेश नं. १ का ३.६ प्रतिशत महिलाले मात्र पाठेघरको मुखको परिक्षण गराउने गरेको पाइएको छ ।
कुन प्रदेशका कति महिलाले गराउछन् पाठेघरको मुखकोे क्यान्सरको परीक्षण
प्रदेश नं. १ ३.६
प्रदेश नं. २ ६.३
प्रदेश नं. ३ ८.६
गण्डकी प्रदेश १२.८
प्रदेश नं. ५ ९.८
कर्णाली प्रदेश १५.८
सुदुरपश्चिम प्रदेश ८.८
स्त्री क्यान्सर रोग विशेषज्ञ ,
डा. सरिता घिमिरेका अनुसार क्यान्सरबारे केहि जानकारी
पाठेघरको मुखको क्यान्सर हुने सम्भावना
३० वर्षभन्दा कम उमेरका महिलालाई यो क्यान्सर हुने सम्भावना निकै कम हुन्छ । ४० वर्ष उमेरमाथिका महिला तथा महिनावारी बन्द भएका महिलामा पनि पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढी रहन्छ । शारीरिक यौनसम्पर्क नभएका महिलामा यो क्यान्सर हँुदैन । पुरुषसँग शारीरिक यौनसम्बन्ध भईसकेका महिलालाई मात्र योे क्यान्सर हुने सम्भावना रहन्छ । पुरुषले धेरै महिलासँग असुरक्षित यौन सम्बन्ध राखेमा पनि महिलामा क्यान्सर सर्न सक्छ ।
किन हुन्छ पाठेघरको मुखको क्यान्सर ?
– महिलाले धेरै पुरुषसँग असुरक्षित यौन सम्बन्ध राखेमा
– सानो उमेरमै विवाह गरेमा
– सानो उमेरमा यौन सम्बन्ध राखेमा
– धेरै बच्चा जन्माएमा
– सानो उमेरमा बच्चा जन्माएमा
– धेरै गर्भाधारण गरेमा
– सुर्तीजन्य पदार्थ तथा रक्सी सेवन गरेमा
– ५ वर्षभन्दा बढी समयसम्म परिवार नियोजनको चक्कि सेवन गरेमा
पाठेघरको मुखको क्यान्सरका लक्षणहरु :
सामान्यतया सुरुको अवस्थामा यो क्यान्सरले कुनै लक्षण देखाउँदैन । क्यान्सर फैलिसकेको अवस्थामा निम्न लक्षणहरु देखा पर्नसक्छ ।
► यौनसम्पर्क गर्दा रगत देखिने
► गन्हाउने पानी आउने
► पटक पटक संक्रमण भइरहने
► महिनावारी नभएको समयमा पनि रगत देखिने
► महिनावारी बन्द भइसकेका महिलामा पुन रगत देखा पर्ने
► पेट फुल्ने
► खुट्टा सुन्निने
► ढाड तथा कम्मर दुख्ने
► दिसा पिसाबमा परिवर्तन आउने