५६ करोड खर्चेर दुई चरणमा दादुरा–रुबेलाविरुद्ध खोप अभियान



Download our app to get more features

काठमाडौं, १ पुस । सरकारले दादुरा–रुबेला खोप अभियान दुई चरणमा सञ्चालन गर्ने भएको छ । पहिलो चरणमा प्रदेश १, २ र ५ का ३४ जिल्लामा आगामी १ देखि ३० फागुनसम्म अभियान सञ्चालन हुनेछ । यस्तै दोस्रो चरणमा प्रदेश ३, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका ४३ जिल्लामा १ देखि ३० चैतसम्म अभियान सञ्चालन गरिने परिवार कल्याण महाशाखा बाल तथा खोप सेवा प्रमुख डा. झलक गौतमले बताए ।

अभियानमा तराईका १९ जिल्लामा पाँच वर्ष मुनिका बालकालिकालाई पोलियो थोपा समेत खुवाइने छ । खोप अभियानसम्बन्धी जानकारी दिन मंगलरबार आयोजना गरिएको अन्तरक्रियामा डा. गौतलमले सरकारले दादुरा–रुबेलाको निवारण गर्न अभियान अघि सारेको बताए । नेपालमा दादुरा रुवेलाको निवारणका लागि खोपको कभरेज ९५ प्रतिशत पुर्याउनु पर्ने हुन्छ । यस अभियानमा दादुरा–रुबेला खोप ९ महिनादेखि ५ वर्ष मुनिका करिब ३० लाख बालबालिकालाई दिइनेछ भने पोलियो खोप जन्मेदेखि ५ वर्ष मुनिका १५ लाख बालबालिकालाई दिइनेछ । 

खोप टोली निर्धारण गर्दै 
सरकारले अभियानका लागि आवश्यक कर्मचारी र खोप केन्द्र पनि निर्धारण गर्नेछ । हाल रहेका १६ हजार नियमित खोप केन्द्रले मात्रै सबै बालबालिकालाई नसमेट्ने हुँदा थप केन्द्र स्थापना गरिनेछ । यसैगरी तालिमप्राप्त स्वास्थ्यकर्मी ९ हजार जना र स्थानीय सुपरिवेक्षक ५ हजार ५ सय निर्धारण गरिएको डा. गौतमले बताए । 

एक लाख स्वयंसेविका 
सरकारले अभियानलाई सफल पार्न स्वंयसेविका पनि खटाउने भएको छ । एक खोप टोलीमा एक स्वयंसेवीका र हरेक खोप केन्द्रमा २ जना गरि करिब एक लाख परिचालन गरिनेछ ।

५६ करोड लगानी 

अभियान व्यवस्थापनका लागि ३२ करोड खर्च हुने जनाएको छ । जसमा २२ करोड सहयोगी संस्था गाभी र १० करोड नेपाल सरकारको रहनेछ । यस्तै दादुरा–रुबेला खोप ३२ लाख ४४ हजार डोज लाग्नेछ । खोपको लागि आवश्यक बजेट कुल २४ करोड लाग्ने छ । यसमध्ये २३ करोड ४४ लाख गाभी र नेपाल सरकारको ५६ लाख रहेको छ । खोप र कार्यक्रम व्यवस्थापन गर्न कुल खर्च ५६ करोड लाग्ने जनाइएको छ । 

दादुरा रोगबाट हुने जटिलता
आँखामा समस्या भई अन्धोपन हुने ।
झाडापखाला लाग्ने कुपोषण हुने ।
कान पाक्ने ।
श्वासप्रश्वासमा संक्रमण (न्युमोनिया) हुने ।
मस्तिष्कमा कडा खालको सुजन हुने, मस्तिष्क ज्वरो आउने 
कम्पन हुने ।
जटिलताको कारण मुत्यु पनि हुन सक्ने

रुवेलाको संक्रमणबाट हुने जटिलता
हाड जोर्नी सुन्निने वा दुख्ने ।
रक्तश्राव हुने ।

गर्भावस्थामा संक्रमण भए सिआरएसमा हुने जन्मजात विकृतिहरु ः 
गर्भपतन हुने वा मृत शिशु जन्मिने । 
कानमा हुने विकृति (बहिरोपना) ।
आँखामा हुने विकृति(अन्धोपना) ।
मुटुमा हुने विकृति ।
मस्तिष्कमा हुने विकृति ः पूर्ण रुपले वृद्धि नभई सानो हुने, मानसिक मन्दता हुने ।
कलेजो र फियोमा असर आदि ।
जटिलताको कारण मुत्यु पनि हुन सक्ने ।

Last modified on 2019-12-19 15:28:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts