बैतडीका एचआईभी संक्रमित स्वास्थ्य जाँचबाट बञ्चित, १ सय ७ जनाले मात्रै सेवन गर्छन् एआरटी

बैतडी, ३० मंसिर । बैतडीमा एचआईभी संक्रमितहरु स्वास्थ्यको पहुँचमा नहुँदा स्वास्थ्य जाँच र एआरटी सेवन गर्नबाट बञ्चित भएका छन् ।
दुई सय १० जना एचआईभी संक्रमित मध्ये अधिकांशले नियमित स्वास्थ्य जाँच समेत गराउन पाएका छैनन् । उनिहरु मध्ये एक सय ७ जनाले मात्रै एआरटी सेवा लिने गरेका छन् । स्वास्थ्य कार्यालय बैतडीका सुचना अधिकारी भुवन भट्टका अनुसार एचआइभी संक्रमितहरु समाजमा अपहेलनाको डरले खुलेर आउन सकेका छैनन् ।
एचआईभी संक्रमण भएकाहरुलाई समाजले हेर्ने दृष्किोणमा कुनै परिवर्तन नभएको भट्टको भनाइ छ ।
सूचना अधिकारी भट्टले एचआईभी सङ्क्रमितले नियमित स्वास्थ्य परिक्षण, एआरटी सेवा र औषधि सेवन गरे जीवन यापनमा सजिलो हुने गरेको बताए ।
एचआइभि संक्रमितहरुले नियमित औषधि सेवन गरे र खानपानमा ध्यान दिएमा स्वस्थ मानिस सरह जीवन यापन गर्न सक्ने स्वास्थ्यकर्मीहरु बताउछन् ।
सरकारले सन् २०३० सम्मा नेपालबाट एचआईभी संक्रमितको संख्या न्यून गर्ने लक्ष्य लिएपनि अहिलेसम्म त्यसको कार्यान्वयनको अवस्था भने कमजोर देखिएको छ ।