खोप लगाउनु पूर्व बच्चाको स्वास्थ्य परीक्षण गर्ने नेपालकै पहिलो गाउँपालिका बन्यो मायादेवी

रुपन्देही, २७ मंसिर । रुपन्देहीको मायादेवी गाउँपालिकाको स्वास्थ्य शाखाले बालबालिकाको स्वास्थ्य परीक्षण गरेर मात्र खोप लगाउने परिपार्टीको शुरुवात गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य शाखाले गाउँपालिकाका ४ वटा स्वास्थ्य संस्थामा कार्यरत १५ जना स्वास्थ्यकर्मीलाई खोप लगाउनु पूर्व बालबालिकाको स्वास्थ्य परिक्षण अनिवार्य गर्ने गरि प्रशिक्षण प्रदान गरेको स्वास्थ्य शाखा प्रमुख भास्कर आत्रेयले बताए ।
विशेष गरि नेपाल सरकारले १५ महिना मुनीका बालबालिकालाई निःशुल्क रुपमा विभिन्न ११ प्रकारका रोग विरुद्धको खोप लगाउने गर्दछ ।
नेपाल सरकारले १५ महिना मुनिका वालवालिकालाई क्षयरोग, भ्यागुते, लहरेखोकी, धनुष्टकार, हेपाटाईटिस बी, होम फिलोस ईन्फून्जा टाईव बी, पोलियो, दादुरा, रुवेला, जापानिज ईन्सेप्लाईटिस र निमोनिया रोग विरुद खोप लगाउने व्यवस्था गरेको खोप अधिकृत भेषराज शर्माले बताए ।
आउदो पौषको दोस्रो हप्तादेखि सञ्चालन गरिने यो अभियानले खोपका कारण बालबालिकाको मृत्यु भएको भनी विगतमा हुने गुनासाको अन्त्य हुने संयोजक आत्रेयको भनाइ छ ।
खोप लगाउनु पूर्व बालबालिकाको ज्वरो, निमोनिया, पखाला, रक्तश्राव, तौल, कुपोषणका बारेमा परिक्षण गर्नुका साथै आमालाई स्वास्थ्य शिक्षाका बारेमा जानकारी गराउने समेत उनले बताए ।
उक्त गाउँपालिकामा १७ वटा खोप क्लिनिक मार्फत करिब १ हजार १ सय बालबालिकालाई खोप सेवा प्रदान गरिने गरेको स्वास्थ्य शाखाले जनाएको छ ।