सूर्तिजन्य कर नतिर्ने र मादक पदार्थ सेवन गर्नेमा प्रदेश ५ नेपालकै अग्रस्थानमा

रुपन्देही, २७ मंसिर । सूर्तिजन्य पदार्थको कर नतिर्ने र मादक पदार्थ सेवन गर्नेमा प्रदेश नम्बर पाँच नेपालकै अग्रस्थानमा रहेको एक अध्ययनले देखाएको छ ।
सूर्तिजन्य पदार्थमा चुरोट, बिडी, तमाखु, सूर्तिजन्य गुट्खा, पानपराग, पान, सूर्ति पर्ने गर्दछ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद काठमाडांैले गत फेबु्रअरीदेखि मे २०१९ सम्ममा गरेको सर्वेक्षणमा नेपालमा कुल जनसंख्याको २८ दशमलव ९ प्रतिशतले सूर्तिजन्य पदार्थ सेवन गर्ने गरेको तथ्याङक रहेको छ । जसमा प्रदेश पाँचमा मात्रै ३६ दशमलव ६ प्रतिशतले सूर्तिजन्य पदार्थ सेवन गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्रिय तथ्याङ्क भन्दा प्रदेश पाँचमा ७ दशमलव ७ प्रतिशत जनताले बढी सूर्तिजन्य पदार्थ सेवन गर्ने गरेकोे पाईएको प्रतिवेदन सार्वजनिक गरिएको छ ।
१५ वर्षदेखि ६९ वर्ष उम्मेर समुहका जनसंख्यामा आधारित भएर सर्वेक्षण गरिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषदका वरिष्ठ अनुसन्धान अधिकृत बिहंगम विष्टले बताए । नेपालमा नसर्ने रोग सम्बन्धी जोखिम तत्वको अवस्था पत्ता लगाउनका लागि परिषदले सर्वेक्षण गर्ने गरेको उनले बिहीबार बुटवलमा आयोजित प्रतिवेदन सार्वजनिक समारोहमा जानकारी गराए ।
प्रदेश पाँचमा मद्यपानमा पिउनलाई अयोग्य वा कर नतिरेको मादक पदार्थ सेवन गर्ने ७० दशमलव ८ प्रतिशत रहेका छन भने राष्ट्रिय तथ्याङकमा ६८ दशमलव ५ प्रतिशत रहेको छ । यो तथ्याङक मद्यपान गर्नेहरुमध्येकोवाट गरिएको सर्वेक्षण हो ।
विश्व स्वास्थ्य संगठनको मान्यता अनुसार हरेक नेपाली जनताले हरेक दिन ४ सय ग्राम फलफुल र तरकारी खानु पर्नेमा केवल १ सय ६० ग्राम मात्र खाने गरेको सर्वेक्षणले देखाएको पनि सोअवसरमा जानकारी गराईएको थियो । सन्तुलित भोजनको अभावका कारण नेपालमा हरेक दिन विरामीको संख्या बढने गरेको हो ।
राष्ट्रिय तथ्याङ्क अनुसार नेपालमा दुर्घटना, हिंसा तथा चोटपटकलाई हेर्दा ३ दशमलव ८ प्रतिशत रहेकोमा प्रदेश पाँचमा ५ दशमलव ९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । जोनी तथा ढाडको दुखाई सम्बन्धी स्वास्थ्य समस्यामा पनि प्रदेश पाँच अग्रपक्तिमा देखिएको छ । प्रदेश पाँचमा १८ दशमलव ९ प्रतिशतमा यो समस्या देखिएको छ । त्यस्तै उच्चरक्तचाप, रगतमा चिनीको मात्रा र कोलेस्टेरोलका समस्यामा पनि प्रदेश पाँच राष्ट्रिय तथ्याङकमा भन्दा अगाडी देखिएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अनुसन्धान अधिकृत सरोज भट्रराईका अनुसार प्रदेश पाँचका २८ दशमलव २ प्रतिशत जनतामा यो रोगको समस्या रहेको छ भने राष्ट्रिय तथ्याङकमा २४ दशमलव ५ प्रतिशत रहेको प्रतिवेदनमा देखाईएको छ । सर्वेक्षणमा प्रदेश पाँचका ५ हजार ५ सय ९३ जना वयस्कहरु माझ गरिएको बताईएको छ । समग्रतामा ८६ दशमलव ४ प्रतिशत रहेको पनि परिषदले जनाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले सार्वजनिक गरेको प्रतिवेदनलाई मध्य नजर गरि प्रदेश पाँचको सामाजिक विकास मन्त्रालयले आगामी दिनको रणनीति तयार गर्ने महाशाखा प्रमुख उमाशंकर चौधरीले बताए ।