मिर्गौला प्रत्यारोपण काण्डमा पक्राउ परेका निदान हस्पिटलका पाँचै जना रिहा

ललितपुर, २६ मंसिर । मिर्गौला प्रत्यारोपण काण्डमा पक्राउ परेका ५ जना रिहा भएका छन् ।
‘मिर्गौला प्रत्यारोपण काण्ड’ मा पक्राउ परेका निदान अस्पतालका कार्यकारी निर्देशक र मेडिकल डाइरेक्टर सहित पाँचै जनालाई बिहीबार नै रिहा गरिएको छ ।
उच्च अदालत पाटनले आदेश दिएपछि अस्पतालका सीईओ विपेन्द्र प्रधान, कानूनी सल्लाहकार कुमुद भट्टराई, डा राजेश पन्त, जिल्ला प्रशासन कार्यालय ललितपुरका अधिकृत रामचन्द्र आले र मिर्गौला लिने बिरामी शंकरमान लामा रिहा भएका छन् ।
उच्च अदालतका मुख्य न्यायाधीश नकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको संयुक्त इजलाशले दिएको आदेशमा मिर्गौैला ग्रहण गर्ने बिरामी लामालाई १० लाख, कानूनी सल्लाहकार भट्टराईलाई ९ लाख र अस्पतालका सिईओ प्रधानसँग ६ लाख रुपैयाँ धरौटी माग गरेको थियो । डा. पन्त र शाखा अधिकृत आलेलाई भने साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
नक्कली भान्जा खडा गरी मिर्गौला प्रत्यारोपण गराएको आरोपमा जिल्ला प्रहरी कार्यालयले गत असोज २९ मा सीईओ र डाक्टर सहित पाँच जनालाई नियन्त्रणमा लिएको थियो ।
अंग प्रत्यारोपण सम्वन्धी कानून भईरहेको अवस्थामा मानव अंग बेचविखन सम्बन्धी मुद्धा चलाइएको भन्दै उनीहरुका परिवारले जिल्ला अदालतको निर्णय विरुद्ध उच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटमाथि फैसला गर्दै उनीहरुलाई रिहा गरिएको हो ।