सरकारी बजेटबाट विदेश शयर गर्ने कर्मचारीको तलब काटिन्छः स्वास्थ्यमन्त्री ढकाल

What's This?


Download our app to get more features

चितवन, १६ मंसिर । मन्त्रालय परिवर्तन भएयता भेटघाट र बिफ्रिंगमै व्यस्त स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले भरतपुर अस्पतालको निरीक्षण गर्दै स्वास्थ्य क्षेत्रमा देखिएको विकृति आफ्नो कार्यकालमा हटाउने दावी गरेका छन् । 

आइतवार अस्पतालमा स्वागत पछि बोल्दै मन्त्री ढकालले भने,  ‘कमिसन आउँछ भन्दै अस्पताललाई आवश्यक नभएका, भएपनि राख्ने ठाउँनै नभएको, चलाउने व्यक्ति नहुँदापनि सामग्री खरिद गर्ने बानी छ । आफूलाई पैसा आउँछ भन्ने लागेपछि सामान खरिद गरिहाल्ने, माग गरिहाल्ने तर त्यो सामान कसले चलाउँछ, कतिको आवश्यकता छ भन्ने विषयमा ध्यान छैन । अव यो समस्या हटाउने प्रयास गर्छु ।’

पैसा नभएर उपचार नपाइ मरिन्छ भन्ने अवस्थाको अन्त्य गर्न सरकारले योजना बनाएको उनको भनाइ छ । ‘रोग लागेको छ तर उपचार गर्ने पैसा छैन अब मरिन्छ भन्ने अवस्थालाई अन्त्य गरिन्छ ’ मन्त्री ढकालले थपे ‘गरिबले पनि बाँच्न पाउनु पर्छ, जसको लागि सरकार भएको अनुभूति गराउँछौ ।’ स्वास्थ्य क्षेत्रकै बजेटलाई हामीले मिलाउने तयारी गरेको भन्दै मन्त्री ढकालले सेमिनार गोष्ठीको नाममा स्वास्थ्यका व्यक्ति विदेश जाने तर सिन्को नभाच्नेहरुको रकम कटौती गर्नेपनि जिकिर गरे । विदेशमा घुमेर आउनेहरुलाई अब बजेट दिने छैन त्यहाँ खर्च हुने पैसा गरिब असहाय, उपचार नपाएका व्यक्तिलाई दिने गरी व्यवस्था ल्याउने तयारी भएको मन्त्री ढकालले थपे ।

देशभरीको ठुला अस्पतालको सेवाको विषयमा स्थलगत निरीक्षणमा आफै हिडेको भन्दै मन्त्री ढकालले प्रत्यक्ष आफूले हेरेर समस्या समाधान गर्न सहज हुने भएकाले जिल्ला आएकोबताए । उनले भने, ‘नेपालका धेरै अस्पतालको स्तरोन्नती र सेवामा विकास गर्नुपर्ने देखिएको छ, यसका लागि अस्पतालका प्रशासकले प्रस्ट योजना ल्याउनु पर्दछ ।’ 

काठमाण्डौ चितवनका ठुला अस्पतालहरुले धेरै बिरामीलाई सेवा दिएपनि यहाँको दीर्घकालिन विकासको प्रस्ट योजनाको अभाव भएको मन्त्री ढकालले बताए। सरकारी र निजीमा काम गर्ने एउटै चिकित्सकबाट सेवा र व्यवहारमा एउटै अवस्था नदेखिने समस्या पुरानो रहेको उनको भनाइ छ। ‘सरकारी अस्पतालमा काम गर्ने डाक्टरको क्लिनिकको उपचार सेवा, आर्थिक अवस्थामा धेरै अन्तर रहेको छ’ मन्त्री ढकालले भने ‘आखिर के कुराले छेक्यो राम्रो गर्नको लागि, निजीमा सकिने सरकारीमा नसकिने हुन्छ ? फरक गर्ने बानी डाक्टरहरुले हटाउनु पर्दछ ।’

अस्पताल सञ्चालनको लागि गठन भएको विकास समितिमा राजनीति धेरै हुँदा सेवामा समस्या आएको मन्त्री ढकाललको दावी छ। सरकारले अहिले विकास समिति हटाएपछि राखिनु पर्छ भन्ने गुनासा आएको भन्दै हिजोको अवस्थाले के समस्या पारेको थियो भन्ने विषय समिक्षा गर्न मन्त्री ढकालले अनुरोध गरे । 

Last modified on 2019-12-02 17:36:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts