प्रधानमन्त्री आईसीयूमै, संक्रमण नहोस् भन्नेमा चिकित्सकहरु सतर्क अवस्थामा

काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई केहिदिन आईसीयूमै राखेर उपचार गरिने भएको छ ।
महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएपनि केहिदिन अझैं आईसीयूमै राखिने उपचारमा संलग्न डा. अरुण शायमीले हाम्रो डाक्टरलाई बताए ।
मंगलबार बिहानै असह्य पेट दुखेपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । अप्रेसन सफल भएपनि उनलाई इलेक्टिभ भेन्टिलेटरमा राखिएको थियो । भेन्टिलेटरबाट बुधबार बिहान उनलाई हटाएर आईसीयूमा सिफ्ट गरिएको थियो ।
उनका अनुसार प्रधानमन्त्री ओलीलाई आईसीयूमा चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा राखिएको छ ।
करिव १० वर्ष अगाडि प्रत्यारोपण गरिएको मिर्गौलाले राम्रोसँग काम नगरिरहेका बेला एपेन्डिसाइटिसको अप्रेसन गरिएकाले संक्रमण नहोस् भन्नेमा चिकित्सकहरु सतर्क रहेको पनि डा. शायमीले जानकारी दिएका छन् ।
डा. शायमीले प्रधानमन्त्री ओलीको मंगलबार र बुधबार लगातार डायलासिस पनि गरिएको बताए ।
स्वास्थ्यमा समस्या आएपछि १३ कात्तिकमा ग्राण्डी अस्पताल पुगेका उनको त्यही दिन डायलासिस गरिएको थियो । त्यसयता चार पटक डायलासिस गरिएको छ । एपेन्डिसाइटिसको उपचार सकिएपछि मात्र यसबारे थप छलफल हुने उनले बताए ।