के हो नाकको एलर्जी ? यस्ता छन् जोगिने उपाय...
वातावरणीय प्रदुषणका कारण मानव स्वास्थमा विभिन्न प्रकारका समस्याहरू देखिने क्रम बढ्दो छ । विशेषगरी प्रदुषणका कारण श्वासप्रश्वासजन्य समस्याबाट शहरी क्षेत्रमा बस्ने मानिसहरू बढी पीडित भइरहेका छन् । यसर्थ, ग्रामीण भेगमा बस्नेलाई पनि समस्या नभएको भने होइन । वातावरणीय प्रदुषणका कारण शरीरका जुनसुकै अंगमा एलर्जी हुने क्रम बढ्दो छ । त्यसमा पनि नाकको एलर्जी बढी देखिहरेको छ । नाकको एलर्जी किन हुन्छ ? यसबाट जोगिन के गर्ने ? वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. काशीराज ज्ञवालीको सुझाब यस्तो छ :–
वातावरणलाई शरीरले सहजै स्वीकार गर्न नसक्नु वा शरीरको प्रतिरक्षा प्रणाली संवेदनशील भएर वातावरणसँग घुलमिल हुन नसक्दा हुने समस्या एलर्जी हो । शरीरलाई आवश्यक अक्सिजन नाकमार्फत लिने हुँदा प्रदुषणयुक्त वातावरणसँग नाकको पहिलो सम्पर्क हुन्छ भने समस्या पनि सबैभन्दा पहिला नाकमा हुन्छ । प्रदुषणका कारण सबै भन्दा बढी नाकमा एलर्जी हुनसक्छ । नाकको एलर्जीलाई बेवास्ता गरे यसले दम रोग समेत निन्त्याउन सक्छ । यसकारण एलर्जीको लक्षण देखिना साथ चिकित्सकसँग परामर्श लिनुपर्छ ।
के हो नाकको एलर्जी ?
हावामा भएका प्रदुशित कणहरू हाम्रो शरीरले रुचाउँदैन । शरीरभित्र पसेका यस्ता कणलाई नाकले बाहिर फ्याल्न खोज्छ जसले गर्दा हाँछ्यू आउने, नाक थुनिने, श्वसाप्रश्वास बढ्ने, पातालो सिंगान बग्ने, घाँटी खसखस गर्ने हुन्छ । यस्तो हुनु नै नाकको एलर्जी हो ।
लक्षण
- नाक बन्द हुने ।
- स्वाँ स्वाँ बढी हुने ।
- पतलो सिंगान बग्ने ।
- हाँछ्यू आउने ।
- लामो समयसम्म एलर्जी भइरहे पिनास हुने, टाउको दुख्ने, नाकभित्र मासु पलाउने ।
- बच्चाहरूमा दुखाई हुने, सुत्न गाह्रो हुने ।
प्रमुख कारण
- प्रदुशित वातावरण ।
- वंशाणुगत गुण ।
- नाकमा कुनै समस्या ।
बच्ने उपाय
यो समस्या जोसुकै व्यक्तिलाई जुनसुकै बेला पनि हुनसक्छ । एलर्जीलाई सदाको लागि हटाउन भने सकिदैन्, नियन्त्रणमा राख्ने मात्रै हो ।
- शरीरलाई अनुकुल नहुने वातावरणमा नबस्ने ।
- स्वच्छ वातावरणमा बस्ने ।
- बाहिर निस्कदा वा धुँवाधुलो भएको ठाउँमा जाँदा माक्सको प्रयोग गर्ने ।
- यस्तो समस्या आए निको भैहाल्छ भनेर बस्नु हुन्न ।