शुल्क फिर्ता गर्न निजी मेडिकल कलेजलाई सरकारको २४ घन्टे अल्टिमेटम

काठमाडौं, ९ मंसिर । सरकारले निजी मेडिकल कलेजलाई सरकारले २४ घन्टे अल्मिेटम दिएको छ ।
सोमबार गृहमन्त्रालयमा बसेको बैठकबाट मंगलबारसम्म शुल्क फिर्ता नगरे कलेज सञ्चालकलाई पक्राउ गरी ठगी मुद्दा चलाउन प्रहरीलाई निर्देशन दिएको हो ।
गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरीराजमणी पोखरेल, महान्यायाधिवक्ता अग्नीप्रसाद खरेल र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच सोमबार भएको छलफलपछि कलेज सञ्चालकहरुलाई शुल्क फिर्ता गर्न मंगलबारसम्मको अन्तिम अल्टिमेटम दिइएको हो ।
यसअघि गत चैत, असोज र कात्तिकमा गरी ३ पटक निजी मेडिकल कलेज सञ्चालकलाई सरकारले विद्यार्थीसँग लिइएको अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्न भनेर निर्देशन दिएको थियो । तर, कलेज सञ्चालकहरुले सरकारको निर्देशनलाई अटेरी गर्दै आएका छन् ।
मन्त्रिपरिषद बैठकले बढी शुल्क लिएमा कलेज विरुद्ध सम्बन्धीत जिल्ला प्रशासन कार्यालयमा प्रमाणसहित उजुरी दिन सकिने निर्णय गर्दै जिल्ला प्रसाशन कार्यालयमा पत्र पनि पठाइसकेको छ ।