निजी मेडिकल कलेज सञ्चालक र सरकारबीच आज छलफल हुँदै

काठमाडौं, ९ मंसिर । निजी मेडिकल कलेजले शुल्क फिर्ता नगरेपछि आज बैठक बस्न लागेको छ । सरकारले दिएको ३ पटक निजी मेडिकल कलेजलाई विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्न समय दिएको थियो ।
सरकारले दिएको निर्देशनलाई वेवास्ता गरेपछि अबको विकल्पको बारेमा छलफल गर्न आज शिक्षा मन्त्रालयमा बैठक बस्न लागेको शिक्षा मन्त्रालयका सचिव महेश प्रसाद दाहालले बताए ।
उनले हाम्रो डाक्टरलाई भने अनुसार निजी मेडिकल कलेजले अटेरी गरेपछि कारबाहीको बिकल्पको छलफल हुनेछ । दाहालले आजको छलफलमा निजी मेडिकल कलेज सञ्चालक र सरकारबीच छलफल हुने र त्यसबाटै निस्कर्ष निकालिने पनि जानकारी दिए ।
शिक्षा मन्त्रालयले कात्तिक २४ गते सूचना जारी गरेर १५ दिनभित्र बढी शुल्क फिर्ता वा समायोजन गर्न निर्देशन दिएको थियो । मन्त्रालयले यसअघि गत चैत र दसैंअघि पनि शुल्क फिर्ता गर्न निर्देशन दिएको थियो ।
सरकारको निर्देशन बेवास्ता गरेको भन्दै सरकारले यसअघि नै शुल्क फिर्ता नगरे कारबाही गर्न भनेर निर्देशन पनि दिइ सकेको छ । रकम फिर्ता नभएको प्रमाणसहित विद्यार्थीलाई जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन गृहले भनिसकेको छ ।