डेंगुको बिरामीलाई एन्टिबायोटिक दिँदा मृत्यु, ग्राण्डी अस्पतालमा तनाव

काठमाडौं, ८ मंसिर । दाङ घर भइ काठमाडौंमा बस्दै आएका ३६ वर्षीय कृष्णप्रसाद अधिकारी स्वास्थ्यमा सामान्य समस्या आएपछि गत आइतबार धापासीस्थित ग्राण्डी अस्पताल पुगे ।अस्पतालमा डाक्टरसँगको परामर्शपछि उनले रगत परीक्षण गरे । रगत परीक्षणसँगै डाक्टरले एन्टिबायोटिक पनि खान सुझाब दिएको अधिकारीका साथी रमेश उप्रेतीले बताए ।
एन्टिबायोटिक सेवनपछि उनको स्वास्थ्य समस्या झन जटिल बन्यो । विहीवार उनी अस्पतालमै भर्ना भए । यही बेला उनको रगतको रिर्पाेट पनि आयो । रिर्पाेटले डेंगु भएको देखायो । उपचार कै क्रममा आइतबार कृष्णप्रसाद अधिकारीको मृत्यु भएको छ । उनको मृत्यु भएपछि आफन्तले डाक्टरले अन्धधुन्ध औषधि चलाएकोले मृत्यु भएको आरोप लगाएका छन् । डाक्टरले लेखिदिएकै औषधिका कारण कृष्णप्रसादको मृत्यु भएको उनीहरुको दावी छ ।
मृतकका आफन्तले शब बुझ्न मानेका छैनन् । उनीहरुले उपचारमा लागेको खर्च छुट गर्न माग गरेका छन् । यस विषयमा दुई पक्षबीच छलफल भइरहेको छ ।