निजी मेडिकल कलेजलाई शुल्क फिर्ता गर्न दिइएको १५ दिने म्याद आज सकिँदै

प्रमाणसहित प्रसाशन कार्यालयमा उजुरी दिए कारबाही गर्ने गृहको तयारी



Download our app to get more features

काठमाडौं, ८ मंसिर । सरकारले नीजि मेडिकल कलेजलाई शुल्क फिर्ता गर्न दिएको १५ दिने म्याद आज सकिँदैछ । 

सरकारले दिएको समय आज सकिन लाग्दा सम्मपनि कुनैपनि मेडिकल कलेजहरूले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गरेका छैनन् । 

शिक्षा मन्त्रालयले कात्तिक २४ गते सूचना जारी गरेर १५ दिनभित्र बढी शुल्क फिर्ता वा समायोजन गर्न निर्देशन दिएको थियो । मन्त्रालयले यसअघि गत चैत र दसैंअघि पनि शुल्क फिर्ता गर्न निर्देशन दिएको थियो । 

सरकारको निर्देशनलाई बेवास्ता गरेपछि मेडिकल कलेजमा विद्यार्थीको आन्दोलन चर्कंदै गएको छ । पोखरा र चितवनबाट सुरु भएको आन्दोलन अहिले विरगञ्ज, बुटवल र भैरहवासम्म पुगिसकेको छ । 

शुल्क फिर्ता गर्ने विषयमा कलेज प्रशासनले छलफलसम्म नगरेको गुनासो विद्यार्थीले गरेका छन् । 

यसैबीच गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले रकम फिर्ता नभए विद्यार्थीलाई जिल्ला प्रशासनमा उजुरी दिन भनेका छन् । हाम्रो डाक्टरसँगको कुराकानीमा उनले कलेजले निर्देशन अटेरी गर्दा अब कानूनी प्रक्रिया मार्फत् उजुरी दिन लगाएर कारबाहीको काम अघि बढाइने बताए । 

उनले जुनसुकै विद्यार्थीले ठगीको प्रमाणसहित उजुरी दिन सक्ने बताए ।

Last modified on 2019-11-25 07:51:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts