प्रधानमन्त्रीको मिर्गौला पुनः प्रत्यारोपण गर्नु नै उत्तम विकल्पः डा.काफ्ले

काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।
मिर्गौला रोग विशेषज्ञ डा.ऋषि कुमार काफ्लेका अनुसार पटक पटक डायलिसस गरिरहनुको अर्थ उनको मिर्गौलामा समस्या भएको बुझिन्छ । त्यसकारण हप्तामा दुई पटक डायलिसस गर्नुभन्दा उनको मिर्गौला प्रत्यारोपण गर्नु नै उचित हुनेछ । प्रधानमन्त्रीका नीजि चिकित्सकहरुले सार्वजनिक गरेको प्रेस विज्ञप्तिको आधारमा प्रधानमन्त्रीको क्रियाटिनिन ६.३ पुगेको हुनाले मिर्गौलाले १० प्रतिशतभन्दा पनि कम काम गर्दै छ भन्ने बुझिएको डा.काफ्लेको भनाइ छ । ६.३ क्रियाटिनिन देखिएमा अब मिर्गौलाले काम गरिरहन सक्ने अवस्था नरहेको हुनाले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण जति सक्दो चाँडो गरिहाल्नुपर्ने उनको सुझव छ ।
औषधि मात्रै खाएर बस्दा र हप्ताको दुई दिन ४/४ घण्टाको दरले डायलसिसमा बस्नु उचित नहुने भएकाले प्रत्यारोपण गराउनु नै उचित हुने डा.काफ्लेको भनाइ छ । नेपालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण खासै नभएका कारण प्रधानमन्त्री जस्तो गरिमामय पदमा आसिन उनको मिर्गौला प्रत्यारोपण बाहिर नै गराउँदा उचित हुने डा.काफ्लेको भनाइ छ । हाम्रो डाक्टरसँगको कुराकानीमा उनले भने, ‘१२ वर्ष पहिले गरिएको प्रत्यारोपणबाट अहिले काम चलेतापनि पटक पटक डायलसिस गर्नुभन्दा पुनः प्रत्यारोपण नै गर्नु उचित हुन्छ । तर, उनको प्रत्यारोपण कहाँ गर्ने भन्ने कुरा नितान्त पारिवारिक हो ।’ नेपालको कानून अनुसार परिवारकै कोहि सदस्या वा आफन्तले मात्रै प्रधानमन्त्रीलाई मिर्गौला दिन सक्ने भएकाले उनको मिर्गौलासँग मिल्ने कोहि दाता भएमा बाहिर देशमा सजिलै पुनः प्रत्यारोपण गर्न सकिने डा. काफ्लेले बताए ।
नेपालमा मिर्गौला प्रत्यारोपण सरकारी अस्पतालमा ४ लाखमा गरिन्छ भने नीजि अस्पतालमा १० लाख खर्च लाग्छ । बाह्य देशको हकमा सबैभन्दा महँगो अमेरिका हो । जहाँ १ लाख अमेरिकी डलर लाग्छ । भारतमा २० देखि २५ लाख भारतीय रुपैयाँमा मिर्गौला प्रत्यारोपण गरिन्छ । डा.काफ्लेले थपे, ‘सिंगापुरमै फेरि गएर प्रत्यारोपण गर्ने हो भन्ने विषयमा पनि अब नागरिक विश्वस्त हुन सक्दैनन् । किनकी सिंगापुरमा गरिएको प्लाज्मा फेरेसिसको प्रभाव खासै प्रधानमन्त्रीमा देखिएको छैन ।’ यदि प्रधानमन्त्रीको मिर्गौला पुनः प्रत्यारोपण गर्ने हो भने उनलाई कम्तिमा ४ देखि ६ हप्तासम्म आराम गर्नु पर्ने हुन्छ । प्रधानमन्त्रीको स्वास्थ्य पनि राम्रो भएकाले यो समय नै प्रत्यारोपणका लागि उपयुक्त हुने डा.काफ्लेले बताए ।
कति जोखिमयुक्त हुन्छ पुनः प्रत्यारोपण
मिर्गौला पुनः प्रत्यारोपण जोखिमपूर्ण भने हुँदैन । किनभने पुनः प्रत्यारोपण गरेपछि सुरुको समयमा उनले आराम गर्नु पर्ने हुन्छ । डा. काफ्लेका अनुसार पहिलेको जसरी नै मिर्गौलाले काम पनि गर्छ । तर, १२ वर्ष अघिको भन्दा अहिलेको प्रधानमन्त्रीको शरीर बुढो भइसकेकोले धेरै तनाव र हेलचेक्र्याइँ भने गर्नु हुँदैन । अरुको हकमा पनि पुनः प्रत्यारोपण गर्दा कति वर्ष पहिले प्रत्यारोपण गरिएको थियो त्यही अनुसार स्वास्थ्यको ख्याल गर्नुपर्छ । डायलाइसिसमा ढिला गरे जोखिम भने बढ्दै जाने हुनाले संक्रमणको डर हुन्छ । मुटु, फोक्सो, कलेजोको समस्या भएको अवस्था पुनः प्रत्यारोपण सफल नहुन सक्छ ।