स्वास्थ्य राज्यमन्त्री यादवको ढाडमा समस्या, तौल कम गर्न चिकित्सकको सुझाव

काठमाडौं, ३० कात्तिक । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र कुमार यादव ढाडमा समस्या भएपछि वीर अस्पतालमा भर्ना भएका छन् ।
३ दिनदेखि ढाड दुखेर सहन नसकेपछि राज्यमन्त्री यादव शुक्रबार अस्पताल भर्ना भएका हुन् ।
वीर अस्पतालको विशिष्ट कक्षमा उनको उपचार भइरहेको छ ।
राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद कुमार यादवले हाम्रो डाक्टरसँग कुराकानी गर्दै राज्यमन्त्री ज्यूको पछिल्लो ३ दिनदेखि ढाड दुख्ने र हिँडडुल पनि गर्न नसकेपछि अस्पताल भर्ना हुनुभएको बताए ।
उनले भने, ‘मन्त्रीज्यूको उपचार आइतबार सम्म हुने भएकोले चिन्ताजनक अवस्था छैन । तर, उहाँको शरीरको तौल र बसाई नमिलेको कारण गर्दा यस्तो समस्या उत्पन्न हुन सक्छ । उहाँलाई तौल नियन्त्रण गर्न पनि सुझाव दिएका छौं ’
शुक्रबारै एमआरआई गरि सकिएको र रिपोर्ट पनि सामान्य रहेको उनले जानकारी समेत गराए । अन्य टेस्टहरुको रिपोर्ट आज आउने पनि उनले बताए ।
ट्रमा सेन्टरका हाडजोर्नी विशेषज्ञ डा.राजीव झाको नेतृत्वमा उनको उपचार भइरहेको छ ।