मधुमेहका रोगीमा अन्धोपनाको प्रमुख कारण 'डायबेटिक रेटिनोप्याथी'

काठमाडौं, ३० कात्तिक । अन्तर्राष्ट्रिय मधुमेह संघका अनुसार संसारभर ४२ करोड ५० लाख मानिस मधुमेहबाट ग्रसित छन् । यसमध्ये ४ दशमलव ८ प्रतिशत मानिस मधुमेहका कारण हुने डायबेटिक रेटिनोप्याथीका कारण अन्धोपनासहित विभिन्न गम्भीर समस्या भोगिरहेका छन् । उनीहरू मध्ये कतिपयको खुट्टा काट्नु पर्ने अवस्था, हृदय रोग, मिर्गौलाले काम नगर्ने अवस्था र असामायिक निधन समेत हुने गरेको छ ।
विश्वभर विकराल रुप लिइरहेको डायबेटिक रेटिनोप्याथी बारे सचेतना जगाउन तिलगंगा आँखा अस्पतालले २४ देखि ३० कात्तिकसम्म विशेष कार्यक्रम आयोजना गरेको छ । यस अन्तर्गत मधुमेहको कारण आँखामा हुने असरसम्बन्धी स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । साथै मधुमेहका बिरामीलाई २८ कात्तिकमा तिलगंगा आँखा प्रतिष्ठानमा निःशुल्क आँखा जाँच गरिएको थियो । यसवर्ष देशभरका स्वास्थ्य संस्थाले डायवेटिक रेटिनोप्याथी दिवसलाई ‘मधुमेहबाट परिवार सुरक्षित गरौं, अन्धोपनबाट बचौं’ भन्ने नाराका साथ मनाइरहेका छन् ।
अन्तर्राष्ट्रिय मधुमेह संघका अनुसार हरेक तीन मध्ये एक मधुमेह रोगीको जीवनकालमा कुनै न कुनै प्रकारले दृष्टिसम्बन्धी क्षति व्यहोर्नु पर्ने हुन्छ । मधुमेह लागेका व्यक्तिमा हृदय रोगको जोखिम सामान्य मानिसमा भन्दा तीन गुना बढी हुन्छ । मिर्गाैलाले काम नगर्ने जोखिम मधुमेहका बिरामीमा १० गुना बढी हुन्छ । संसारभर प्रत्येक ३० सेकेन्डमा कुनै एक मधुमेह रोगीले आफ्नो खुट्टा गुमाई रहेका छन् ।
मधुमेहको दुरगामी असर न्यूनिकरणका लागि धेरै पहल गर्न सकिन्छ । जस्तो की दोस्रो प्रकारको मेधुमेह, सन्तुलित आहार, नियमित व्यायाम, नियमित स्वास्थ्य परीक्षण, तनाव व्यवस्थापन र औषधोउपचारबाट सहजै ५० प्रतिशत भन्दा बढी रोकथाम गर्न सकिन्छ ।
के हो डायवेटिक रेटिनोप्याथी ?
डायवेटिक रेटिनेप्याथी मधुमेहको जटिलता मध्ये एक प्रमुख अवस्था हो । मधुमेह भएको २० वर्षमा पहिलो प्रकारको करिब सबै र दोश्रो प्रकारको मधुमेहमा करिब दुई तिहाई बिरामीको आँखाँको पर्दा अर्थात रेटिनामा असर परिसकेको हुन्छ । मधुमेहका बिरामीमा आँखाको पर्दामा असर गरे पनि यसको लक्षण तत्कालै नदेखिन सक्छ । आँखामा धेरै असर गरिसकेपछि मात्र रोग बारे थाहा हुन सक्छ । जति वेला उपचारपश्चात पनि दृष्टि फर्काउन गाह्रो हुन्छ । मधुमेहले आँखाको पर्दाको रक्तकोशिकामा असर गरि पर्दाको रक्तसंचारमा प्रभाव पार्छ । जसले गर्दा पर्दाको दृष्टि केन्द्रमा सुजन तथा रक्तश्राव हुनगई दृष्टि कमजोर हुन जान्छ ।