आनन्दवन स्वास्थ्य चौकीलाई १५ शैयाको अस्पताल बनाइने

रुपन्देही, २८ कात्तिक । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नंं. ६ सालघारीस्थित आनन्दवन स्वास्थ्य चौकी १५ शैयाको अस्पताल बन्ने भएको छ ।
स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नतिका लागि वडा नं. ६ र तिलोत्तमा नगरपालिकाले निर्णय गरी स्वास्थ्य मन्त्रालयको योजना महाशाखामा फाइल पठाइसकेका छन् ।
स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गर्न रुपन्देही २ का प्रतिनिधि सभा सदस्य एवं पुर्व अर्थमन्त्री विष्णु पौडेलले समेत प्रतिवद्धता जनाएका छन् । पौडेलले बिहीबार स्वास्थ्य चौकीको स्थलगत निरीक्षण गरी अस्पताल बनाउन आफूले सम्बन्धित मन्त्रालयमा पहल गर्ने भन्दै ढुक्क बन्न आग्रह गरे ।
‘आनन्दवन स्वास्थ्य चौकी अब १५ शैयाको अस्पताल बन्छ, तपाईहरु ढुक्क हुनुस्’–पौडेलले भने –‘यसका लागि मैले सरकार र मन्त्रालयमा कुरा पु¥याउँछु ।’
तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले हरेक वडामा कम्तिमा एउटा स्वास्थ्य संस्था पु¥याउने नगरपालिकाको नीति रहेको बताए ।
स्वास्थ्य चौकीको १० कठ््ठा जग्गा रहेकाले अस्पतालमा स्तरोन्नतिका लागि पहल गरिएको चौकीका प्रमुख ज्ञानप्रसाद पौड्यालले बताए । हाल दैनिक ५० जना भन्दा बढी बिरामीले सेवा लिने गरेका र महिनामा सरदर २० जनाले प्रसुति सेवा समेत लिने गरेको स्वास्थ्य चौकीले जनाएको छ ।
यो स्वास्थ्य चौकी तिलोत्तमा वडा नं ५, ६ र १३ का जनताका लागि पायक पर्ने ठाउँमा छ । स्वास्थ्य चौकीको केही दिन अघि स्वास्थ्य विभागका महानिर्देशक डा. रोशन पोखरेलले समेत स्थलगत निरीक्षण गरेका थिए । अस्पताल बनाउन १५ करोड रुपैयाँ बजेट लाग्ने जनाइएको छ ।