अतिरिक्त शुल्क फिर्ता नगरेपछि भैरहवाको युसिएमएस कलेजमा तालाबन्दी  



Download our app to get more features

रुपन्देही, २६ कात्तिक । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भैरहवामा एमबीबीएसमा अध्ययनरत विद्यार्थीले तालाबन्दी गरेका छन् ।

अतिरिक्त शुल्क फिर्ता नगरेको भन्दै उनीहरुले ताला लगाएका हुन् । ६ बुँदे माग राख्दै कत्तिक १३ गतेदेखि आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले सोमबार कलेजमा तालाबन्दी गरेका हुन् । विद्यार्थीबाट लिइएको बढी शुल्क फिर्ता लगायत उनीहरुका माग छन् ।

सरकारले पनि बढी शुल्क फिर्ता गर्न मेडिकल कलेजहरुलाई निर्देशन दिएको थियो । तर, अटेर गरेपछि विद्यार्थीहरुले क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखको कार्यकक्ष, कलेजको प्रशासन र मानव संशाधन शाखामा तालाबन्दी गरेका हुन् ।

विद्यार्थीले अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने, परीक्षा शुल्क त्रिभुवन विश्वविद्यालयले तोके अनुसार लिनुपर्ने, विशेष कारणवश आन्तरिक परीक्षामा सहभागी हुन नपाएका विद्यार्थीलाई विश्वविद्यालयको परीक्षामा सहभागी गराइनुपर्ने, इन्टर्न्सिपको पारिश्रमिक शुल्क त्रिविको मापदण्डअनुसार वृद्धि गर्नुपर्ने र आन्दोलन गरेको आधारमा विद्यार्थीमाथि विभेद गर्न नहुने माग राखेका थिए ।

विद्यार्थी आन्दोलनसँगै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा सरोकारवाला पक्षबीच भएको छलफलमा शुल्क फिर्ता वा समायोजन र परीक्षा शुल्कसम्बन्धी दुईवटा माग त्रिविको निर्णय र निर्देशनअनुसार गर्ने र अन्य चार वटा माग मेडिकल कलेजले पूरा गर्ने सहमति पनि भएको थियो । तर, विद्यार्थीहरुले एक्कासी २४ घण्टे अल्टिमेटम दिएर तालाबन्दी गरेको कलेजका सूचना तथा जनसम्पर्क अधिकारी सुशील गुरुङले बताए । 

विद्यार्थीहरुले भने कलेज प्रशासनले माग पूरा गर्न आलटाल मात्रै गरेकाले तालाबन्दी गर्नुपरेको बताएका छन् । सरकारले काठमाडौं उपत्यकाभित्र एमबीबीएस ध्ययनका लागि ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ५० हजार शुल्क लिन पाउने सीमा छ । युनिभर्सल मेडिकल कलेजले प्रतिविद्यार्थी कम्तीमा १० लाखदेखि अधिकतम १५ लाखसम्म बढी शुल्क असुलेको विद्यार्थीहरुको दावी छ ।

त्यसअनुसार कलेजले पाँचसय भन्दाबढी एमबीबीएसका विद्यार्थीको रकम फिर्ता गर्नुपर्ने छ । युनिभर्सलले एमबीबीएस विद्यार्थीसँग मात्र नभई बीडीएसका दुई सय, नर्सिङका एक सय ५० जना र प्यारामेडिक्स पढ्ने सय जना भन्दा बढी विद्यार्थीसंग पनि अतिरिक्त शुल्क असुलेको विद्यार्थीको गुनासो छ ।

Last modified on 2019-11-14 15:19:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts