डा. केसीको समर्थनमा सरकारी गाडी सञ्चालनमा रोक, रेफर गर्ने तयारी

डडेल्धुरा, २४ कात्तिक । चिकित्सा शिक्षा सुधार अभियन्ता प्राडा गोविन्द केसीको अनसनलाई समर्थन जनाउँदै डडेल्धुराबासीले आइतबार दिनभर सरकारी सवारी सधान सञ्चालनमा रोक लगाएका छन् । सात बुँदे माग राख्दै गत सोमबारदेखि अनसन बसेका डा. केसीप्रति सरकारले बेवास्ता गरेको भन्दै दबाब दिन स्थानीयले सरकारी सवारीसाधान सञ्चालनमा रोक लगाएका हुन् ।
१७औँ पटक अनसन बसेका डा. केसीको स्वास्थ्यमा समस्या आएपछि शुक्रबार साँझ डडेल्धुरा अस्पताल भर्ना गरिएको छ । अनशनको पाचौँ दिन शुक्रबार शरीरमा पानीको मात्रा कम भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । डाक्टर केसीले जिल्ला सदरमुकामस्थित डडेल्धुरा अस्पतालबाट करिब एक सय मिटर दुरीमा रहेको निर्मल क्लिनिकको तेस्रो तलाको एक कोठामा अनसन सुरु गरेका थिए ।
डा. केसीलाई रेफर गर्ने तयारी
डडेल्धुरा अस्पतालमा भर्ना भएका डा. केसीको स्वास्थ्य आवस्था निरन्तर नाजुक बन्दै गएको अस्पतालका मेसु डाक्टर जितेन्द्र कँडेलले बताए । उनले भने, ‘अहिले ब्लड प्रेसर र मुटुको चाल बढेको छ । उहाँको थप केहि जाँच गर्नुपर्ने देखिन्छ जुन यो अस्पतालमा सम्भव छैन । त्यसैले यहाँबाट अन्यत्र पठाउने तयारीमा छौ ।’ पिसाबमा देखिएको समस्या सुधारोन्मुख नदेखिएकाले धेरै समय डा. केसीलाई डडेल्धुरा राख्न उपयुक्त नहुने उनले बताए ।
डा. केसीको उपचारमा निरन्तर विशेषज्ञसहितको चिकित्सक टोली खटिएको छ । आकस्मिक कक्षमै उपचार गराई रहेका उनलाई रेफर गर्ने विषयमा उनका भाई किशोरसँग छलफल भइरहेको डा. कँडेलको भनाइ छ । ‘अब उहाँको यो अस्पतालमा उपचार सम्भव छैन । अबको विकल्प सुविधासम्पन्न अस्पताल नै हो । उहाँले सुदूपश्चिमै अनशन गर्छु भन्नु भएकाले सायद कैलाली तिर पठाइन्छ होला ।’ डडेल्धुरा अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) र एबिजी सेवा नरहेको अस्पतालले जनाएको छ ।
डा. केसीको समर्थनमा डडेल्धुरामा आईतबार सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ । सरकारी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाइने डडेल्धुरा उद्योग वाणिज्य संघ डडेल्धुराका अध्यक्ष लोकराज भट्टले जानकारी दिए । ‘बिहान ९ देखिसाँझ ४ बजेसम्म सरकारी नम्बरका गाडी र मोटरसाइकल सञ्चालनमा रोक लगाएका छौं’ उनले भने ‘सदरमुकाम बागबजार क्षेत्रमा दिउँसो १ ः ३० बजेदेखि २ ः ३० बजेसम्म पसल बन्द गर्ने निर्णय गरिएको छ ।’ अन्य सवारी साधनहरु भने सञ्चालन हुने उनले बताए ।
अनसनरत डाक्टर केसीको समर्थनमा सुदूरपश्चिम प्रदेश सासंद कर्णबहादुर मल्ल, कांग्रेस डडेल्धुरा, त्यहाँको नागरिक समाज, अगुवाहरु, नेवि संघ, पेशाकर्मी एवं व्यवसायिक संघसस्थाको अगुवाइमा दबाबमुलक र्याली आयोजना भइरहेको छ । दैनिकजसो विरोधका कार्यक्रम भए पनि सरकारले केसीको अनसनप्रति चासो नदेखाएको स्थानीयको आरोप छ ।