फूड सप्लिमेन्ट दिन पाउनुपर्छ: नेपाल चिकित्सक संघ

काठमाडौं, २४ कात्तिक । नेपाल चिकित्सक संघ (एनएमए) ले फूड सप्लिमेन्ट तथा न्युट्रास्युटिकल्स सिफारिसको विषयमा सञ्चार माध्यममा आएका समाचार र सूचनाप्रति आपत्ति जनाएको छ ।
संघले विज्ञप्ति जारी गर्दै सर्व साधारण नागरिकहरुलाई भ्रममा पार्ने गरी फूड सप्लिमेन्ट/न्युट्रास्युटिकल्स/डाइटरी सप्लिमेन्टहरुलाई प्रतिबन्धित भएका औषधि भनी चिकित्सकबाट सिफारिस गर्न नहुने भ्रामक समाचार र सूचना सम्प्रेषण गरिएकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
कुनै पनि रोगको स्वास्थ्य उपचारका क्रममा बिरामीलाई आवश्यकता अनुसार औषधि तथा फूड सप्लिमेन्ट/न्युट्रास्युटिकल्स/डाइटरी सप्लिमेन्ट सिफारिस गर्ने अधिकार चिकित्सकहरुमा निहित रहेको भन्दै संघले चिकित्सकहरुले खाद्य ऐन २०२३ र खाद्य नियमावली २०२७ मा उल्लेख भएका तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्वीकृती प्रदान गरेका फूड सप्लिमेन्ट/न्युट्रास्युटिकल्स/डाइटरी सप्लिमेन्टहरु विरामीको रोग, उमेर र आवश्यकता अनुसार स्वास्थ्य उपचारमा सहयोगी सावित हुने गरी अन्तराष्ट्रिय मान्यता अनुसार सिफारिस गर्दै आईरहेको विज्ञप्ती मार्फत जनाएको छ ।
ऐन, कानून बिपरित कुनै पनि संघ संस्थाको नाममा यो या त्यो फूड सप्लिमेन्ट/न्युट्रास्युटिकल्स/डाइटरी सप्लिमेन्ट सिफारिस नगर्नु भनी चिकित्सकहरुलाई निर्देशन दिने अधिकार सरोकारवाला बाहेकका निकायलाई नभएको व्यहोरा जानकारी गराउँदै त्यस्ता प्रकारका अस्वाभाविक र गैर कानूनी गतिविधिहरुबाट चिकित्सकहरु भ्रममा नपर्न संघले विज्ञप्ति मार्फत नै आग्रह गरेको छ ।