नेपाल स्वास्थ्यकर्मी संघको नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुँदै

काठमाडौं, २४ कात्तिक । नेपाल स्वास्थ्यकर्मी संघको नयाँ कार्यसमितिको निर्वाचन आज हुँदैछ ।
बिहान ८ बजेबाट निर्वाचन सुरु हुने समय तय गरिएको छ । संघमा आबद्ध १८ हजारभन्दा बढी सदस्य मध्ये देशभरबाट ६ सय ५० प्रतिनिधि निर्वाचनमा सहभागि हुने जनाइएको छ ।
चुनावका लागि ७७ जिल्लाबाटै प्रतिनिधिहरु काठमाडौं आइसकेका छन् भने कति आज आउने क्रम पनि जारी नै छ ।
संघको कार्यसमितिमा अध्यक्ष र महासचिवमा दुई दुई जना चुनावी मैदानमा उत्रने देखिएको छ । सहमतिमा कार्यसमित चयन गर्ने सम्भावना नभएपछि निर्वाचन हुने निश्चित भएको हो ।
संघको अध्यक्षका लागि यसअघि चार जनाले आफ्नो दावी गरेका थिए । तर, अहिले भने चुनावी मैदानमा ओमप्रसाद उपाध्याय र रामजी घिमिरे मात्र देखिएका छन् ।
अध्यक्षका दावेदार कृष्ण नागिला र धनप्रसाद पौडेलले अध्यक्षमा उठेका ओमप्रसाद उपाध्यायलाई सहयोग गर्ने भन्दै मैदानबाट बाहिरिएपछि २ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।
यस्तै, संघको महासचिवमा पनि दुई जना चुनावी मैदानमा देखिएका छन् । दीपक प्रसाद भट्ट र शंकर कँडेल महासचिवका लागि प्रतिस्पर्धामा उत्रने छन् ।
संघको वरिष्ठ उपाध्यक्षमा भने तीन जानको प्रतिस्पर्धा हुने देखिएको छ । संघका हालका महासचिव दीपक मुडभरी वरिष्ठ उपाध्यक्षमा उठेका छन् । यस्तै वरिष्ठ उपाध्यक्षमा रामचन्द्र साह र भवानी शर्मा पनि प्रतिस्पर्धामा उत्रने पक्का भएको छ । साह र शर्मा अध्यक्ष घिमिरे प्यानलका हुन् । घिमिरेले साहलाई उठाउने निर्णय गरेपछि शर्माले स्वतन्त्र रुपमा उठ्ने निर्णय गरेका हुन् ।
यस्तै, संघको कोषाध्यक्षमा राजकुमार तिवारी र सुरेश पासवानबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
हरेक चार वर्षमा हुनुपर्ने संघको चुनाव दुई वर्ष ढिला गरी हुन लागेको हो ।